सुनको गरगहना चोरीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ घर भई हेटौँडा ४ भैरवरोडमा डेरा गरी बस्ने २४ वर्षीय मनोज पुलामी मगर र हेटौँडा ७ नागस्वतीस्थित शिवशक्ती सुनचाँदी पसलका सञ्चालक २५ वर्षीय धिरज विश्वकर्मा रहेका छन्। मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले पुलामिले हेटौँडा ८ कमानेका सन्तोष अधिकारीको घरबाट ७ कार्तिकमा सुनका गरगहना र मोबाइल चोरी गरेको बताए।
सुन चोरी गर्ने व्यक्तिको खोजी गर्ने क्रममा पक्राउ परेका पुलामिले चोरीका गहना विश्वकर्मालाई बेचेको बयान दिएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो। पुलामिले अधिकारीको घरबाट ३.५ तोला सुन र ५ तोला चाँदीका झुम्का, मंगलसुत्र, पाउजु लगायतका गहना चोरी गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको अर्यालले बताए ।








