खानेपानी क्षेत्रमा महत्त्वपूर्ण कार्यहरूको थालनी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग खानेपानीमन्त्री प्रदीप यादवले चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
बिज्ञापन
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र मन्त्री यादवले सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो । मन्त्री यादवका अनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई साकार पार्न खानेपानी क्षेत्रको सुधार, सेवा प्रवाहमा चुस्तता र ठूला पूर्वाधार परियोजना तोकिएको समयमा सम्पन्न गरिने लक्ष्यसहित यो सम्झौता गरिएको हो । कार्यसम्पादन सम्झौतामा प्रमुख कार्यहरूलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो एक सय दिन (२०८१ कात्तिक ६ सम्म), दोस्रो सय दिन (२०८१ माघ १७ सम्म) र आर्थिक वर्षको बाँकी अवधि यसअन्तर्गत, हरेक चरणमा निश्चित कार्यहरू सम्पन्न गर्नुपर्ने र हासिल गरिने उपलब्धिको स्पष्ट खाका तयार पारिएको मन्त्री यादवले बताउनुभयो ।
बिज्ञापन
पहिलो एक सय दिनको अवधिमा मनसुनका कारण अवरुद्ध मेलम्ची खानेपानी आयोजनालाई पुनःसञ्चालनमा ल्याउने, न्युरोड–ठमेल क्षेत्रमा थप ३० किलोमिटर पाइप लाइन विस्तार गर्ने, निर्माणाधीन कीर्तिपुर र महाँकालचौरका पानी पोखरीको निर्माण सम्पन्न गर्ने, धोबीघाट फोहर पानी प्रशोधन केन्द्रलाई दैनिक तीन करोड ७० लाख लिटर क्षमतासहित सञ्चालन गर्ने कार्य सम्पन्न गरिनेछन् । यसका साथै भेरी पम्पिङ खानेपानी आयोजनाको ठेक्का सम्झौता गरी आयोजनाको निर्माणकार्य सुरु गर्ने र जाइकाको अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी सुधार आयोजनालाई पनि अगाडि बढाइनेछ ।
दोस्रो एक सय दिनमा काठमाडौँ उपत्यकाभित्रका ढुङ्गेधारा, इनार, पोखरी संरक्षण गर्ने, वर्षाको पानी सङ्कलन तथा पुनःभरणका कार्य सञ्चालन गर्ने योजना रहेको छ । यस चरणमा नेपाल खानेपानी संस्थानबाट थप चार हजार घरमा खानेपानी प्रणाली सुधार तथा विस्तार गरिनेछ । सहरी खानेपानी आयोजनाअन्तर्गत छवटा आयोजनाको समापन गरिनेछ । आर्थिक वर्षको बाँकी अवधिमा नगर क्षेत्रका थप चार हजार घरमा खानेपानी प्रणाली सुधार गरिनेछ । साथै, दमक र विदुर ढल आयोजनाको निर्माण सम्पन्न गरिनेछ । काठमाडौँ उपत्यकाभित्रका थप परम्परागत पानीका स्रोतको संरक्षण, वर्षाको पानी सङ्कलन तथा पुनःभरणको काम गरिनेछ । सल्लाघारी, कोड्कु र धोबीघाट ढल प्रशोधन केन्द्रको डिजाइन र निर्माणकार्य अगाडि बढाइनेछ ।








