बिज्ञापन
देशभरको मौसम प्रतिकूल बनेपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै हवाई उडानहरू प्रभावित भएका छन्। ‘भिजिबिलिटी’ अर्थात् हावामा देखिने दूरी कमजोर भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने धेरै उडानमा ढिलाइ भएको छ।
बिज्ञापन
विमानस्थल स्रोतका अनुसार, अहिले अन्तर्राष्ट्रिय उडानहरू केही समयका लागि ‘होल्ड’ मा राखिएका छन् भने आन्तरिक गन्तव्यतर्फ पनि केही उडान ढिलो भइरहेका छन्। हिमाली क्षेत्रका विमानस्थलहरू, जस्तै लुक्लाको तेञ्जिङ हिलारी र हुम्लाको सिमीकोट विमानस्थलमा समेत उडान प्रभावित भएको जनाइएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार, प्रतिकूल मौसमका कारण अहिले इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (IFR) अन्तर्गतका उडानमात्र सञ्चालन भइरहेका छन्। उनले भने, “केही उडान डिले भएका छन् तर रद्द गर्नुपर्ने अवस्था भने आएको छैन। निश्चित हवाई रुट भएकाले उडान चाप केही बढेको छ।”
बिज्ञापन
यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ भने अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर पनि परेको छ। विभागका अनुसार, यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा पनि आंशिक वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ।
काठमाडौं उपत्यकामा बिहानदेखि नै आकाश बदली छ र दृश्यता घटेका कारण हवाई उडानमा असर परेको विमानस्थल स्रोतले जनाएको छ।








