बिज्ञापन
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं नियमित उडान सञ्चालनमा ल्याएको हो।
बिज्ञापन
निगमले असोज ९ गतेदेखि उडान सुरु गर्ने तयारी गरेको भए पनि प्राविधिक कारणले उद्घाटन उडान केही दिन ढिलाइमा भएको थियो। शनिबार दिउँसो सम्पन्न पहिलो उडान ग्वाञ्जाओ पुगेर आइतबार काठमाडौँ फर्किएको निगमका प्रवक्ता मनोजकुमार साहले जानकारी दिए। उद्घाटन उडानमा ग्वाञ्जाओबाट १०७ यात्रु काठमाडौँ फर्किएका छन्।
उडान सुरु गर्नुपर्ने दिन यात्रु र अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका अवस्थामा पहिलो उडान रद्द भए पनि निगमले तत्काल व्यवस्थापन गरेको थियो। अब भने पूर्वनिर्धारित तालिकाअनुसार उडान नियमित हुने निगमले जनाएको छ। नेपाल एयरलाइन्सले ग्वाञ्जाओतर्फ हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ। पहिलो उडान असोज १२ गते सम्पन्न भइसकेको र त्यसपछिका उडान असोज ३०, कात्तिक २ र ६ गते हुने तय छ। त्यसपश्चात् प्रत्येक आइतबार, मङ्गलबार र शनिबार नियमित उडान हुनेछ।
बिज्ञापन
काठमाडौँ–ग्वाञ्जाओ मार्गमा एकतर्फी टिकटको भाडा रु ३० हजार र दोहोरो टिकट रु ५० हजार निर्धारण गरिएको छ। हाल यस गन्तव्यमा चीनको चाइना साउदर्न र नेपालबाट हिमालय एयरलाइन्सले पनि नियमित उडान गर्दै आएका छन्। नेपालीको उल्लेख्य बसोबास रहेको ग्वाञ्जाओ उडानले निगमलाई आर्थिक रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ।
ग्वाञ्जाओमा उडान सुरुसँगै नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय सेवा नौ देशका ११ गन्तव्यमा विस्तार भएको छ। हाल निगमले दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी विमानमार्फत दोहा, क्वालालम्पुर, दुवई, हङकङ, दिल्ली, मुम्बई, बैङ्गलोर, बैंकक, दमाम र जापानको नारितामा उडान सञ्चालन गरिरहेको छ।








