बिज्ञापन
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आज बिहानैदेखि जेन–जी (Gen Z) पुस्ताका युवाहरू भेला हुन थालेका छन्। सोमबार भएको प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएपछि मंगलबार पनि युवाहरू सडकमा उत्रिएका हुन्।
बिज्ञापन
कर्फ्यू आदेश जारी भए पनि प्रदर्शनकारी युवाहरूले नाराबाजी गर्दै शान्तिपूर्ण रूपमा आन्दोलन अघि बढाइरहेका छन्। ‘व्यवस्था परिवर्तन’, ‘न्यायको माग’ लगायत नारासहित उनीहरू संसद भवन अगाडि उपस्थित भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को सूचना नआएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिसकेको छ। प्रशासनले अत्यावश्यक सेवा बाहेक कसैलाई पनि सडकमा ननिस्कन आग्रह गर्दै आदेशको उल्लंघन गर्नेप्रति कडा कारबाही गर्ने चेतावनी दिएको छ।
बिज्ञापन
तर जेन–जी आन्दोलनका आयोजकहरूले भने आफ्नो आन्दोलन अहिंसात्मक, शान्तिपूर्ण र निरन्तर रहने बताएका छन्। उनीहरूले सोमबारको घटनामा मृत्यु भएका १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्न आज विशेष सभा आयोजना गर्ने जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको झडपमा १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका थिए। तीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
युवाहरूको स्वतन्त्र र नेतृत्वविहीन भनिएको यो आन्दोलनले राजधानीको राजनीतिक वातारणलाई एकाएक तातेको छ। सामाजिक सञ्जालमा ‘#GenZNepal’ ट्रेन्ड भइरहेका छन् भने विभिन्न शहरबाट पनि आन्दोलनप्रति ऐक्यबद्धता देखिन थालेको छ।








