सरकारले पुराना सवारी साधनलाई पत्रु (स्क्र्याप) गर्नका लागि मापदण्ड निर्माणको तयारीमा जुटेको छ। यातायात व्यवस्था विभागले मापदण्ड निर्माणका लागि समिति नै गठन गरेको छ।
बिज्ञापन
विभागले गत फागुन २० गते समिति गठन गरेको हो। उक्त समितिले हाल अध्ययन गरिरहेको विभागका सूचना अधिकारी गणेशमान सिंह राईले जानकारी दिए। उनका अनुसार उक्त समितिले अध्ययन गर्दछ। अटोमोबाईल क्षेत्रका सरोकारवालसँग छलफल गर्दछ। त्यसपछि मापदण्ड निर्माणको प्रक्रिया अघि बढ्दछ।
बिज्ञापन
हाल अध्ययनको काम जारी रहेको उनले जानकारी दिए। कति वर्ष पुरानो सवारी स्क्र्याप गर्ने, कसरी गर्ने, कसले गर्ने भनेर अहिले नै भन्न नसकिने उनले जानकारी दिए। उनले भने, ‘स्क्र्याप कसरी गर्ने, कसले गर्ने, कति वर्ष पुरानो सवारीको गर्न भन्ने विषय अहिले नै भन्न सकिँदैन। त्यसकै लागि अध्ययन भइरहेको छ।’
विश्वको विभिन्न देशहरुमा स्क्र्याप गर्ने प्रक्रिया फरक-फरक रहेको छ। भारतको दिल्लीमा पनि १५ वर्ष भन्दा धेरै अवधिको सवारी चलाउन नपाइने प्रावधान लागु भएको छ। आगामी मार्च ३१ तारिखदेखि दिल्लीमा २० वर्ष पुराना सवारी सञ्चालन गर्न पाइँदैन। त्यहाको पेट्रोल पम्पले २० वर्ष पुरानो सवारीलाई पेट्रोल नै नदिने व्यवस्था लागु हुँदैछ।
बिज्ञापन
भारतको केन्द्र सरकारले पनि सन् २०२० मा स्क्र्याप सम्बन्धी मापदण्ड निर्माण गरेको थियो। जहाँ वर्कशपहरुले पुराना सवारी लिने र सो सवारीको काम लाग्ने पार्ट र नलाग्ने पार्ट छुट्याने र आफैले रिसाईकलको पनि काम गर्न पाउने व्यवस्था गरिएको छ। त्यस प्रकारको वर्कशप सञ्चलनका लागि पनि केही मापदण्ड पुरा गर्नु पर्दछ।
स्क्र्याप गर्ने सवालमा सवारीको आयु कति हुन्छ भन्ने कुराले कति वर्ष पुरानो गाडी स्क्र्याप गर्ने भन्ने निचोड निकाल्न सकिने विज्ञहरुको भनाई छ। तर, सवारीको आयु उक्त सवारी सञ्चालन हुने क्षेत्रको सडकमा पनि भर पर्ने जानकारहरु बताउँछन्। जापान सरकारले कारको औषत आयु १२ वर्ष तोकेको छ। यसैगरी, ठूला बसको औषत आयु १६ र ट्रकको औषत आयु १६ वर्ष तोकेको छ। यस्तो आयु देश अनुसार फरक हुने गर्दछ।
पुराना सवारीले प्रदुषण र दुर्घटना बढाउँने भएकाले स्क्र्याप गर्नुपर्ने सूचना अधिकारी राईको भनाई छ। स्क्र्यापको मापदण्ड बनाउँदा हरेक विषयलाई मसिनो गरि अध्ययन गरेर मात्रै मापदण्ड बनाउने जानकारी उनले दिए।








