पश्चिमी वायुका साथै स्थानीय वायु पनि सक्रिय भएपछि देशका केही ठाउँमा वर्षा हुन थालेको छ।
बिज्ञापन
जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा हल्का, मध्यमदेखि अति भारी वर्षा भएको छ। विभागका विभिन्न स्टेशनमध्ये मोरङको केराबारी स्टेशनमा अत्यधिक वर्षा मापन भएको छ। केराबारीमा ४०१.२ मिलिमिटर मापन भएको छ। केराबारिमा भएको मापन अति भारी वर्षा हो। २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ । यस्तो वर्षाका कारण आकस्मिक बाढीको जोखिमसमेत हुन्छ।
बिज्ञापन
यस्तै गत २४ घण्टामा सप्तरीको रुपनी बजारमा मध्यम वर्षा भएको छ। त्यहाँ ३६ .४ मिलिमिटर वर्षा भएको हो। सप्तरीकै बरमझियामा १९.६ मिलिमिटर पानी परेको छ। मकवारपुर र र प्यूठानमा पनि मध्यम वर्षा भएको छ। सिन्धुली, दोलखा र कास्की लगायतका जिल्लामा हल्का वर्षा भएको विभागले जनाएको छ। आज पनि देशभर मौसम बदली भएको छ। कोशी प्रदेशसहित पहाडी भू(भागमा आंशिकदेखि साधारण बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमी भाषामा आंशिक बदली हुनु भनेको आकाशमा ५० प्रतिशतसम्म बादल देखिनु हो भने साधारण बदली भनेको ७५ प्रतिशतसम्म आकाश बादलले ढाकिनु हो। त्यसैले आज मधेशबाहेकका बाँकी ६ प्रदेशका केही भू-भागमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। आज पनि चट्याङसहित वर्षासँगै हिमपातको पनि सम्भावना भएकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने हँदा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।








