उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको छ। बिहीवार दिउँसो करिव साढे चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात निर्माण भएको एउटा घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
खाना पकाउन चुल्होमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए। ‘घरभित्रको लत्ता कपडा, अन्नपात र भाडाकुडा पनि सबै जलेका छन्,’ उनले भने, ‘घरको भुइँ तलामा रहेका ११ वटा पशुचौपाया पनि मरेका छन्।’
बिज्ञापन
आठ वटा गाई र तीन वटा गोरु जलेर मरेको उनले जानकारी दिए। घटनाको जानकारी पाएलगतै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएका थिए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए।
समयमै हिमपात नभएको र हावाहुरीका कारण आगलागी भएको स्थानीय गोपाल गुरुङले बताए। हावाहुरीका कारण सोही स्थानमा रहेको मङ्गङ गुम्बाको जस्ता समेत उडाएको उनले जानकारी दिए। सोही स्थानमा रहेको माने दुङ्गुर समेत उडाएको उनले बताए। ‘हावाहुरीका कारण उडेको धुलोले स्थानीयहरु बिरामी परेका छन्,’ उनले भने, ‘धेरैजसोलाई रुघाखोकी लागेको छ।’
बिज्ञापन








