खाना पकाउने ग्यासको मूल्य घटेको छ। जिल्लाको खार्पुनाथ गाउँपालिका–५ को खार्पु राष्ट्रिय सडक सञ्जालसंग जोडिएपछि उक्त खाना पकाउने ग्यासको मूल्य घटेको हो।
बिज्ञापन
सिमकोट गाउँपालिका– ५ को बजारकी पुतली लामाले पछिल्लो समय अझै ग्यासको मूल्य घटेको बताए। उनले हाल बजारमा ग्यास भरेको प्रतिसिलिण्डर दुई हजार नौ सय रुपैयाँ पर्ने गरेको बताउदै दुई महिनाको अन्तरमा प्रति सिलिण्डर छ सय रुपैयाँ घटेको बताए। त्यसैगरि उपभोक्ताले नयाँ सिलिण्डर खदिर गर्नु पर्यो भने प्रति सिलिण्डर चार हजार आठ सय रुपैयाँ पर्ने गरेको छ। यसअघि नयाँ सिलिण्डरको मूल्य पाँच हजार तीन सय रुपैयाँ पर्ने गथ्र्यो। यसले गर्दा उपभोक्तालाई फाईदा भएको छ। त्यसैगरि अर्का उपभोक्ता सुनकला शाहीले खाना पकाउने ग्यासको पहिलेको मूल्य हेर्दा अहिले तीन गुणा घटेको जानकारी दिँदै सडक सञ्जाल जोडिएको फाइदा उपभोक्ताले महसुस गरिरहेको बताइन्।
बिज्ञापन
केही महिनाअगाडि आफुले सात हजार मूल्य तिरेर एउटा ग्यास सिलिण्डर भरेको बताउँदै अहिले पनि आधा भन्दा बढी मूल्य घटेको उनको भनाइ छ। सिमकोट बजारका टि सप्लायर्सका सञ्चालक तीर्थ बुढाले यसरी ग्यासको मूल्य घट्नुको मुख्य कारण सडक सञ्जाल खार्पुनाथ गाउँपालिकासँग जोडिनु रहेको बताए। अर्को कुरा उनले सडक जोडिएपछि ग्यासको ब्यापार गर्ने ब्यापारीहरु बढेको कारण पनि प्रतिश्प्रर्धाको कारण पनि मूल्य घटेको बताए। उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले पहिलेको तुलनामा ग्यासको मूल्य निकै घटेको भन्दै प्रतिस्पर्धी बजार नै मुख्य कारण भएको जानकारी दिए। सिमकोटभन्दा दक्षिणतर्फका सबै क्षेत्रमा दूरीअनुसार ग्यासको मूल्य कम पर्दै जाने गरेको भन्दै अध्यक्ष भण्डारीले सडक सञ्जाल जोडिएको फाइदा उपभोक्ताले लिइरहेको बताए।
ग्यास प्रयोग गर्ने बढ्दै
बिज्ञापन
ग्यासको मूल्य घटेसंगै यसको प्रयोग गर्नेको सङ्ख्या पनि बृद्धि भएको छ। उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारीले हाल ५० प्रतिशत उपभोक्ता खाना पकाउने ग्यास प्रयोग गर्नेको संख्यामा बृद्धि भएको बताए।
दाउराभन्दा ग्यास प्रयोगबाट सस्तो पर्ने भएपछि यसको उपभोक्ता बढिरहेको उनले बताए। यसअघि सिमकोट बजारमा दुई हजार उपभोक्ताले ग्यास प्रयोग गर्ने गरेकोमा हाल त्यो संख्या ४५ सयभन्दा बढी पुगेको उनले बताए।








