रेडक्रसमा आर्थिक घोटाला भएको निष्कर्ष निकालिएको छ । नेपाल रेडक्रसमा भएको नीतिगत तथा आर्थिक अनियमितताको सम्बन्धमा छानबिन गर्न महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषदबाट गठित समितिले प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक घोटाला भएको निष्कर्ष निकालेको हो ।
बिज्ञापन
संजयकुमार साह संयोजक रहेको समितिले रेडक्रसममा जग्गा तथा स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरेको छ भने सरकारलाई बुझाउनु पर्ने कर समेत नतिरेको प्रतिवेदनमा उल्लेख छ । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल रेडक्रस सोसाइटीको निर्वाचनका सम्बन्धमा विभिन्न मितिहरूमा अदालतहरुबाट आदेशहरू जारी भएको सम्बन्धमा दुई समूहले समानान्तर कार्य समिति गठन गरेको तथा नेपाल रेडक्रस सोसाइटीको आधिकारिक कार्य समितिका सम्बन्धमा विवाद रहेकोले नेपाल रेडक्रस सोसाइटीले विपत् व्यवस्थापनमा खेल्नुपर्ने प्रभावकारी भूमिकामा चूक्नुका साथै मानवीय सेवामा असर परेको देखिन्छ उल्लेख छ । तालुकदार निकाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपाल रेडक्रस सोसाइटीको महाधिवेशन गर्ने कार्यादेशसहित नयाँ तदर्थ कमिटि गठन गरि अगाडि बढ्न सिफारिस प्रतिवेदनमा उल्लेख छ ।
बिज्ञापन
यस्तै, रक्तसञ्चार केन्द्रमा गुणस्तरीयताको विषयमा गम्भीर समस्याहरू देखिएको प्राविधिक प्रतिवेदन तथा छानबिन समितिको सुझाव, सिफारिस अनुसार अविलम्ब कार्यान्वयन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । रक्त संकलन तथा वितरण मानव स्वास्थ्यको लागि अत्यन्तै संवेदनशील विषय भएकोले प्राविधिक प्रतिवेदनहरुले औंल्याएका समस्याहरु सार्वजनिकीकरण नगरी गोप्य राखी कार्यान्वयन गर्न पनि समितिले सुझाव दिएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले भक्तपुरको जग्गा खरिद सम्बन्धी कारोबारमा संस्थालाई प्रत्यक्ष नोक्सानी परेको कुल रकम २ करोड ९ लाख ५८ हजार ८ सय ९२ रुपैयाँ देखिएकोले जग्गा खरिदको लागि नीति तयार पार्नेदेखि खरिद कार्यमा संलग्न निर्णयाधिकारीलाई कानून बमोजिम कारवाही गर्नु पर्ने सुझाव पनि समितिले दिएको छ ।
यस्तै, नेपाल रेडक्रस सोसाइटीले विभिन्न व्यक्ति, फर्म, संस्थाहरुसँग वस्तु तथा सेवा खरिद गर्दा सार्वजनिक खरिद ऐन, आर्थिक नियमावली, कर्मचारी नियमावली लगायतको पूर्ण परिपालना गरेको नपाइएकोले संस्थाभित्र अनिवार्य आर्थिक, प्रशासनिक नियमावलीहरुको पूर्ण पालना गराउन कानुन बमोजिम असुलउपर गरी कारवाही गर्न सिफारिस गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको भक्तपुर स्थित केन्द्रिय गोदामघरको प्रयोजनका लागि विभिन्न १३ किसिमका उपकरणहरु आपूर्तिका लागि खरिदमा संस्थालाई प्रत्यक्ष हानी नोक्सानी भएकोले सम्बन्धित कर्मचारी तथा पदाधिकारीलाई कानून बमोजिम कारवाही गर्न सिफारिस गरिनु पर्ने प्रतिवेदनमा उल्लेख छ ।
बिज्ञापन
रेडकक्रसको घरजग्गा भाडा लगाउँदा नियमानुसार भाडावालासँग करार सम्झौता अनुसार बिलम्व शुल्क नलिएकोले यसबाट भएको हानी नोक्सानीको यकिन गरी सम्बन्धित निर्णयाधिकारीलाई कानुन बमोजिम कारवाहीका लागि सिफारिस गर्नु पर्ने सुझाव प्रतिवेदनमा छ । बहाल कर बुझाउने सम्बन्धमा घर वहाल कर तिरेको अभिलेख नपाइएकोले यसबाट नेपाल सरकारलाई आर्थिक हानी नोक्सानी पुगेको र नियमानुसार घर बहाल कर, सम्पत्ति कर, मालपोत कर जस्ता कर असुली तथा कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउन पनि प्रतिवेदनमा उल्लेख छ । बाँकी बक्यौता उठाउन नसकेको सम्बन्धमा घरजग्गा भाडा वापत यसै प्रतिवेदनमा उल्लेखित बक्यौता रकम अविलम्ब असुलउपर गर्नु पर्ने प्रतिवेदनमा भनिएको छ ।








