होमपेज > विद्युत् उत्पादनमा वृद्धि भएसँगै भारततर्फ बिजुली निर्यात

विद्युत् उत्पादनमा वृद्धि भएसँगै भारततर्फ बिजुली निर्यात

बिज्ञापन
बिज्ञापन

गर्मीले नदीमा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएसँगै भारततर्फ बिजुली निर्यात पुन: हुन थालेको छ । अहिले दैनिक ४ सय मेगावाट विद्युत् निर्यात हुने बताइएको छ । भारतमा मात्रै विद्युत् निर्यात भइरहेकामा बंगलादेशमा समेत विद्युत् निर्यातको सम्भावना बढेको छ । यसले नेपालको जलस्रोतको दोहनको बाटो खुल्ने देखिन्छ ।

बिज्ञापन

नेपालमा उत्पादित बिजुलीले आन्तरिक माग पूरा गरी बढी भएको १ हजारदेखि १ हजार २०० मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम यस वर्ष निर्यात लक्ष्य राखिएको छ । निर्यात स्वीकृतिका लागि आयोजनाको सूची भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष प्रस्ताव पठाएको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । द्विपक्षीय सम्झौताबमोजिम विहार राज्यलाई करीब २ सय मेगावाट विद्युत् विक्रीका लागि पावर ट्रेड कम्पनीसँग र करीब ४०० मेगावाट हरियाणा राज्यलाई विक्री गर्न एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनसँग सम्झौता गरी स्वीकृतिका लागि पठाइएको हो । यस वर्ष गतवर्षभन्दा बढी बिजुली निर्यात हुने सम्भावना देखिन्छ ।

बिज्ञापन

बिजुली निर्यातको आजको अवस्थासम्म आइपुग्न नेपालले धेरै पहल गर्नुपरेको थियो । अहिले भारत नेपालको बिजुलीप्रति केही सकारात्मक बनेकाले नै यो सम्भव भएको हो । अहिले सरकारी कम्पनीले बिजुली निर्यात गरिरहेको छ र आयात गर्ने कम्पनी पनि सरकारी नै रहेको छ । नेपालको निजीक्षेत्रले आफूले बिजुली निर्यात गर्न पाउनुपर्ने माग गरिरहेको छ र सरकारले त्यसलाई सम्बोधन गर्ने बताएको छ । त्यस्तै भारतको निजी कम्पनीले सरकारी कम्पनीले भन्दा बढी पैसामा बिजुली किन्न प्रस्ताव गरेको समाचार पनि आएको छ । यसले बिजुली निर्यातका लागि नयाँ सम्भावना देखाएको छ । निजीक्षेत्रले बिजुली बेच्न पाउने हो भने अझ बढी बिजुली निर्यात हुनुका साथै मूल्य पनि बढी पाउन सकिन्छ ।

त्यसो त बिजुली निर्यात गरेर धनी हुन सकिँदैन, त्यसैले आन्तरिक उपभोग बढाउनुपर्छ भन्ने पक्ष पनि उत्तिकै सशक्त देखिन्छ । नेपालले भारतलाई विक्री गरेको मूल्यभन्दा निकै महँगो मूल्यमा ऊसँग बिजुली किन्नुपर्ने बाध्यता छ । त्यस्तै अर्थतन्त्रमा व्यापक परिवर्तन ल्याउने हो भने सस्तो ऊर्जा सहज रूपमा सबै उद्योगले पाउने अवस्था बनाउनुपर्छ । अहिले एकातिर भारततर्फ बिजुली निर्यात भइरहेको छ भने अर्कातिर नेपाली उद्यमीले बिजुली पाउन नसकेको गुनासो गरिरहेका छन् । यसो हुनुका कारण नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको पूर्वाधार बनाउन नसक्नु हो । प्राधिकरणले निर्यातलाई बढी प्राथमिकता दिएको र प्रसारणलाइनलाई बेवास्ता गरेको आरोप पनि लागेको छ । प्राधिकरणले प्रसारण लाइन बनाउन नसक्दा कतिपय आयोजनाको बिजुली अझै उपयोग हुन नसकेको अवस्थासमेत रहेको छ । त्यसैले जलविद्युत्को उपयोग उद्योग क्षेत्रले गर्नु पाउने अवस्थाको सुनिश्चितता हुनुपर्छ ।

बिज्ञापन

बिजुली निर्यात सकारात्मक भए पनि कुनै एक मुलुकमा मात्रै निर्भर हुनु हुँदैन । भारतले त्यही भएर नेपालको बिजुलीमा त्यति धेरै चासो नदिएको हुन सक्छ । ऊर्जा रणनीतिक वस्तुको महत्त्व भएकाले यस्तो वस्तु खरीद र विक्री दुवैका लागि कुनै एक मुलुकमा मात्रै निर्भर हुँदा समस्या आउन सक्छ । त्यसैले नेपालले बंगलादेशमा बिजुली निर्यातका लागि पहल गरिरहेको छ । भारतले आफ्नो प्रसारण लाइन प्रयोग गरेर बंगलादेश लैजान अनुमति दिएपछि नेपाल र बंगलादेशबीच विद्युत् खरीदविक्रीका लागि सम्झौता गर्ने तयारी भइरहेको छ । बिजुलीको मूल्यमा कुरा नमिल्दा अहिले यसले अन्तिम रूप लिएको छैन । बंगलादेश आफै नेपालमा बिजुली उत्पादन गर्न तयार भएको छ । यसका लागि उसले नेपालसँग सम्झौता गरिसकेको छ । त्यसो भयो भने बिजुली निर्यातका लागि बंगलादेश पनि अर्का बजार बन्न सक्छ । चीनतर्फ पनि कागजी प्रक्रिया शुरू भएको छ तर व्यवहारतस् नेपालबाट चीनतर्फ बिजुली निर्यात गर्न कठिन देखिन्छ ।

बिजुली निर्यातलाई मात्र नेपालले प्राथमिकता दिनु हुँदैन । यसको आन्तरिक खपत बढाउने र अन्य प्रयोगमा पनि ध्यान दिनु आवश्यक छ । नेपालमा जलविद्युत्बाट हाइड्रोजन उत्पादनको परीक्षण सफल भइसकेको छ । त्यसैले सरकारले यसमा ठूलो लगानी गर्नु आवश्यक छ । हाइड्रोजनलाई भविष्यको ऊर्जा मानिएको छ । जलस्रोतमा धनी नेपालले जलविद्युत् प्रयोग गरेर पानीबाट हाइड्रोजन निकाल्न सस्तो पर्छ । यो हरित ऊर्जा हो र यो ट्यांकरबाट सजिलै जता पनि पठाउन सकिन्छ । त्यसो हुँदा यसको बजार जुनसुकै मुलुक हुन्छ । यसबाट चल्ने गाडी विश्वभर नै उपयोगमा आइसकेकाले यसतर्फ पनि नेपालको ध्यान जानु आवश्यक छ ।

हिउँदमा नदीमा पानीको प्रवाह कम हुन गई बिजुली उत्पादन घट्ने हुँदा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यो आयात रोक्न सक्ने विकल्पमा नेपालले काम गर्न ढिला भइसकेको छ । भारतबाट आयात गरिने बिजुली एकातिर स्वच्छ होइन भने अर्कातिर निकै महँगो पर्छ । त्यसैले नेपालले यो आयात गर्न नपर्ने गरी बिजुली उत्पादन बढाउनु आवश्यक छ ।

यसका लागि सरकारले ऊर्जा सम्मिश्रणको नीति लिएको छ तर त्यसअनुसार काम तीव्र गतिमा अघि बढ्न भने सकेको छैन । यसको एउटा विकल्प जलाशययुक्त आयोजना हो । यस्ता आयोजनाबाट हिउँदमा अपुग बिजुली निकालेर आपूर्ति बढाउन सकिन्छ । जलाशययुक्त बूढीगण्डकी आयोजनामा अझै अन्योल छ । सरकारले निर्माणका लागि कम्पनी खडा गरे पनि काम भने केही पनि भएको छैन । त्यस्तै सौर्य ऊर्जाको अंश बढाउनेतर्फ पनि निकै सुस्त गतिमा काम भइरहेको छ ।

बिजुली निर्यात सकारात्मक भए पनि नेपालको सम्भावना उच्च भएको देखिएकाले जलविद्युत्को बहुआयामिक प्रयोग बढाउन आवश्यक छ । निर्यात गर्दा केही रकम मात्रै भित्रिने हो तर आन्तरिक खपत बढाउँदा त्यसले अर्थतन्त्रमा बहुगुणित फाइदा दिन्छ । त्यसैले यसअनुसार सरकारले काम गर्नु आवश्यक छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते