होमपेज > यसरी बदलियो युवतीविहीन इचोक गाउँ

यसरी बदलियो युवतीविहीन इचोक गाउँ

बिज्ञापन
बिज्ञापन

रुपक पुरी । सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइ दिन्छु भन्दै भारत लैजान्थे ।

बिज्ञापन

बाबु–आमा आफै छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो । अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर । आकर्षक तलब पाउने आशमा युवती गाउँ रित्तै हुने गरी विदेश गए । बाबु–आमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आशमा छोरीलाई विदेश पठाए ।

बिज्ञापन

दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए । केहीले समाजको देखासिकीमा टिनको छानो हाले पनि । तर, मुग्लानपारिको देशमा पुगेकामध्ये कतिपय उतै बेचिए । कोही नारकीय जीवन बिताउन बाध्य भए । कतिपय नेपाली चेली दर्दनाक पीडा खेप्दै विदेशमै अलपत्र परे । यो क्रम धेरै वर्ष कायम रह्यो । चेली बेचिने नाममा बदनाम खेप्नुपर्‍यो इचोकवासीले ।

चेलीबेटी बेचबिखनको चौतर्फी हल्ला चलेपछि धैरैको ध्यान यस गाउँले तान्यो । चेलीबेटी बेचबिखन रोकथामको नाममा धेरैले यहाँका बासिन्दाका समस्यालाई कमाइ खाने भाँडो बनाए । धन कमाउन विदेश गएका कतियप ऊर्जाशील छोरीहरु ‘एचआइभी एड्स’ जस्तो प्राणघातक रोग बोकेर गाउँ फर्किए । उनीहरुप्रति गाउँमा छिःछि र दूरदूर हुनथाल्यो । आफू कोक्रोमा छँदै विवाहको टुङ्गो मामाको छोरीसँग भएका पाल्साङ लामा १५ वर्ष पुगेपछि बिहे गर्न खोज्दा मामाकी छोरी अर्कैसँग हिँडेपछि बिहेबाट वञ्चित भए । १५ वर्षको उमेरमा बाबु बितेपछि उनी दुई भाइसहित दुःखजिलो गरी हुर्किए । अरु युवतीसित विवाह गर्न खोज्दा सम्भव भएन । पाल्साङ भन्छन्, ‘गाउँका सबै युवती भारत गए, उमेर पुगेका पुरुषलाई बिहे गर्न हम्मे हम्मे भयोे ।’

बिज्ञापन

चेलीबेटी बेचबिखनका लागि बदनाम भएको हेलम्बु गाउँपालिकाको ‘इचोक’ गाउँमा पुरुषलाई बिहा गर्न निकै समस्या भयो । फुपूचेली, मामाचेली बिहे गर्ने परम्परा भएको इचोकको लामा समुदाय छरिएर बसेका छन् । त्यही वरिपरि नै बिहेवारी गर्नु उनीहरुको परम्परा नै बन्यो । चेलीबेटी बेचबिखनले यहाँ बिहेवारी नै रोकिएको थियो ।

पाल्साङले जस्तै धेरैले यस्ता समस्या भोगे । आफ्नी मामाको छोरी (मङ्गेतर) अर्कैसँग हिँडेपछि पाल्साङलाई ठूलो चोट पर्‍यो । गरिबीले पिल्सिएका पाल्साङसँग अरुले बिहे गर्न मानेनन् । सिकर्मी काम गरेर जीविकोपार्जन गरिरहेका पाल्साङको इमान्दारी देखेर छिमेकीले छोरी बिहा गरिदिए । ‘भारत जानेलाई कसरी रोक्ने भन्ने कुरा मेरो दिमागमा रातदिन आउन थाल्यो’, उनले भने । बृद्ध आमा र दुई भाइको लालनपालनको जिम्मा पनि जेठो भएका कारण पाल्साङकै काँधमा थियो । अझ गरिबीले पिल्सिएका बेला आमाले यी छोरा जन्माउनुको सट्टा छोरी जन्मिएका भए त भारत पठाउँथेँ नि भनेको सुन्दा पाल्साङलाई दिक्क लाग्थ्यो । दिनभरि काममा गए पनि राति त्यही कुराले उनको मन कुटुकुटु खाइरहन्थ्यो ।

करिब छ महिना आफ्ना साथीभाइसँग सल्लाह गरेपछि पाल्साङको अगुवाइमा इचोकका ११ युवा मिलेर समाज उत्थान युवा क्लब गठन भयो । ‘सुरुमा भारत जान रोक लगाउने भन्ने कुरा गर्नै भएन’, पाल्साङ भन्छन्, ‘राति राति मात्रै बैठक राखेर काम अघि बढायौँ ।’ २६ वर्षीय पाल्साङलाई सुरुका दिनमा क्लबका नाममा काम गर्न निकै गाह्रो पर्‍यो ।

‘सुरुआतमा धेरैको हप्कीदप्की खायौँ । अहिले सबैले कुरा बुझे’, पाल्साङ भन्छन् । गरिबीले पिल्सिएका पाल्साङले खाने बाटो बनाउन क्लब खोलेको भनी गाउँमा हल्ला चल्यो । यति हुँदा पनि उहाँ बिचलित भएनन् । ‘क्लब स्थापनायता कहिँकतैबाट पनि एक रुपैयाँ लिएको छैन’, उनले भने, ‘बरु ऋण काढेर क्लबका गतिविधि अघि बढाएको छु ।’

पाल्साङको अगुवाइपछि धेर थोर पढेका युवती बेचबिखनविरुद्ध आफै जुर्मुराएका छन् । आफ्ना समस्या समाधानका निम्ति उनीहरु सक्रिय बनेका छन् । जनचेतना जगाउन घरघर धाउन थालेका छन् । यसअघि चेली फकाउन दलाल यसरी नै घरघर धाउँथे । अभिभावक र देखासिकीमा भारत जान खोज्ने चेलीहरुलाई उनीहरुले सम्झाइ बुझाइ गर्न थालेका छन् ।

‘चेली बेचिने गाउँ इचोकको परिचय अहिले बदलिएको छ । अहिले सबै सचेत छन् । छोरीचेली आफै सचेत भएका छन् । अभिभावक बढी जिम्मेवार बनेका छन्’, पासाङले भने । अब उनीहरु रोजगारीका लागि भारत होइन, खाडीमुलुकतर्फ जान थालेका छन् । चेलीको चेतनाकै कारण अब दलालहरु गाउँ पस्न हिम्मत गर्दैनन् । यो परिवर्तनका लागि पाल्साङको अहम भूमिका छ ।

तथ्याङ्कअनुसार केही वर्ष अघिसम्म इचोकबाट वर्षेनी ५० भन्दा बढी चेली विदेश जाने गरेका थिए । विदेशिने सबै तामाङ जातिका थिए । उनीहरुको आकर्षकस्थल भारत नै थियो । त्यसयता इचोकबाट विदेशिने युवतीको सङ्ख्या घटेको छ । पछिल्लो एक वर्षमा २३ युवती रोजगारीका लागि भारत बाहेक अन्य मुलुक गएका छन् ।

इचोक चनौटेमा केही वर्षदेखि क्रियाशील चेलीबेटी बेचबिखन नियन्त्रण तथा परिवार नियोजन सङ्घका प्रमुख दीर्घराज उपाध्याय स्थानिय महिला सक्रिय बनेपछि विदेश जाने चेलीको संख्या घट्दै गएको छ । सिन्धुपाल्चोकका विभिन्न गाउँबाट दलालमार्फत बेचिएर फर्केका झण्डै दुई सय ५० महिलालाई समाजमा पुनःस्थापित गराएको उनी बताउँछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते