बिज्ञापन
प्रविधि क्षेत्रकी अग्रणी कम्पनी एप्पल (Apple Inc.) ले इतिहास रचेकी छ। कम्पनीको बजार पूँजीकरण पहिलोपटक ४ ट्रिलियन अमेरिकी डलर पार गरेको छ।
बिज्ञापन
एप्पल यस स्तरमा पुग्ने एनभिडिया (Nvidia) र माइक्रोसफ्ट (Microsoft) पछि विश्वकै तेस्रो कम्पनी बनेको हो। हाल एनभिडियाको बजार मूल्य ४.७१ ट्रिलियन डलर पुगेको छ भने माइक्रोसफ्टको मूल्य ४.०६ ट्रिलियन डलर रहेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) का अनुसार, भारतको हालको जीडीपी ४.१३ ट्रिलियन डलर रहेको छ, जसको नजिक एप्पलको बजार मूल्य पुगेको छ। एप्पलपछि गुगलको मातृ कम्पनी एल्फाबेट (Alphabet) को बजार मूल्य ३.२४ ट्रिलियन डलर र अमेजन (Amazon) को २.४२ ट्रिलियन डलर रहेको छ।
बिज्ञापन
अक्टोबर २८ मा एप्पलको स्टक २६९.८७ डलर मा पुग्दै ऐतिहासिक उच्च स्तरमा पुगेको थियो, जसले कम्पनीको बजार पूँजीकरणलाई पहिलो पटक ४ ट्रिलियन डलरभन्दा माथि पुर्यायो। हाल कम्पनीको स्टक २६८.५१ डलर मा कारोबार भइरहेको छ।
सेप्टेम्बर ९ मा सार्वजनिक गरिएको आईफोन १७ सिरिज एप्पलको हालको मूल्यवृद्धिको प्रमुख कारण बनेको विश्लेषकहरूले बताएका छन्। नयाँ सिरिज लन्च भएपछि कम्पनीको स्टक १५ प्रतिशतले बढेको छ।
काउन्टरपोइन्ट रिसर्चका अनुसार, अमेरिका र चीनमा आईफोन १७ सिरिजको बिक्री अघिल्लो मोडेलको तुलनामा १४ प्रतिशत बढी भएको छ। यद्यपि, एआई प्रविधिको दौडमा एप्पल अझै केही पछाडि रहेको बताइन्छ। कम्पनीले एप्पल इन्टेलिजेन्स सुइट र च्याटजीपीटी एकीकरण सार्वजनिक गरे पनि सिरीको एआई अपग्रेड अर्को वर्षसम्म स्थगित गरिएको छ।
विश्लेषकहरूको भनाइमा, एप्पलको यो उपलब्धिले बजारमा कम्पनीको ब्रान्ड मूल्य, नवप्रवर्तन क्षमता र लगानीकर्ताको विश्वास अझ मजबुत बनाएको छ।








