नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको आज ठीक छ वर्ष पूरा भएको छ। भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म फैलिएको यस पाइपलाइनमार्फत हालसम्म ६ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ।
बिज्ञापन
नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका अनुसार पाइपलाइनबाट अहिलेसम्म ६ अर्ब १४ करोड ३५ लाख लिटर डिजेल, २० करोड १५ लाख लिटर पेट्रोल, र ४१ लाख लिटर मट्टितेल आयात भएको छ।
बिज्ञापन
पाइपलाइन प्रणालीबाट हाल पेट्रोल, डिजेल र मट्टितेल नियमित रूपमा आयात भइरहेकाछन्। सन् २०१९ (वि.सं. २०७६ भदौ २४ गते) तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि सोही दिनदेखि नै डिजेल आयात सुरु गरिएको थियो। त्यसपछि २०८१ असोज २४ गतेदेखि पेट्रोल र मङ्सिर १९ गतेदेखि मट्टितेल पाइपलाइनमार्फत ल्याउन थालिएको हो।
दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पाइपलाइन मानिने ६९.२ किलोमिटर लामो यो परियोजनामा भारततर्फ ३३ किलोमिटर र नेपालतर्फ ३६.२ किलोमिटर पाइपलाइन पर्दछ। मल्टी–प्रोडक्ट पाइपलाइन प्रणालीबाट नेपालको करिब ७० प्रतिशत इन्धन माग पूर्ति भइरहेको निगमले जनाएको छ।
बिज्ञापन
अमलेखगञ्ज डिपोबाट हाल काठमाडौं, विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगञ्ज, जनकपुर लगायतका डिपोहरूमा पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको छ। अमलेखगञ्ज प्रादेशिक प्रमुख प्रलयङ्कर आचार्यका अनुसार पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर इन्धन आयात गर्ने क्षमता भए पनि अहिलेको मागका कारण पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने अवस्था छैन।
भण्डारण क्षमता विस्तार र स्वचालन
पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत अमलेखगञ्जमा अटोमेसन प्रणाली लागू गरिएको छ र नयाँ चार वटा ‘भर्टिकल ट्याङ्क’ निर्माण गरेर भण्डारण क्षमता बढाइएको छ। अहिले अमलेखगञ्जमा १७ हजार ५०० किलोलिटर पेट्रोल, २७ हजार ५०० किलोलिटर डिजेल, र २ हजार २०० किलोलिटर मट्टितेल भण्डारण गर्न सकिन्छ। पूराना र नयाँ ट्याङ्कसहित कुल ९४ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण क्षमता रहेको छ, जसले अमलेखगञ्ज डिपोलाई देशकै सबैभन्दा ठूलो र आधुनिक डिपो बनाएको छ।
निगमका अनुसार पाइपलाइन सञ्चालनपछि वार्षिक तीन अर्ब रुपैयाँ ढुवानी खर्च बचत भएको छ। सडकमार्गबाट इन्धन ढुवानी गर्दा हुने दुर्घटना, चोरी, मिसावट र वातावरणीय जोखिममा पनि कमी आएको छ।
नयाँ विस्तार परियोजना : अमलेखगञ्ज–लोथर र सिलगुडी–चारआली पाइपलाइन
सरकारले पाइपलाइन विस्तारका लागि सिलगुडी (भारत)–चारआली (झापा) र अमलेखगञ्ज–लोथर (चितवन) परियोजनालाई राष्ट्रिय प्राथमिकता परियोजनाको रूपमा अघि बढाएको छ। गत साउन १६ गतेदेखि सुरु गरिएको दोस्रो चरण अन्तर्गत अमलेखगञ्ज–लोथर ६२ किलोमिटर लामो पाइपलाइन निर्माण भइरहेको छ। यस पाइपलाइनमा १०.७५ इञ्च व्यासको ट्युबलाइन बिछ्याइँदैछ, जसबाट प्रतिघन्टा २७३ किलोलिटर इन्धन प्रवाह गर्न सकिनेछ।
लोथरस्थित नयाँ ग्रीन फिल्ड टर्मिनल करिब २३ विघा १२ कठ्ठा क्षेत्रफलमा निर्माण हुँदैछ। सो डिपोमा ९१ हजार ९०० किलोलिटर इन्धन भण्डारण क्षमता हुने र परियोजनाको अनुमानित लागत १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहने बताइएको छ। परियोजना प्रमुख प्रदीप यादवका अनुसार लोथर डिपोमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनका लागि ११ वटा नयाँ ट्याङ्क निर्माण हुनेछन्।








