होमपेज > नवउदारवादको बेइमानी अर्थशास्त्र : गरिबी, कृषि र अनुदानमा अवसरवाद

नवउदारवादको बेइमानी अर्थशास्त्र : गरिबी, कृषि र अनुदानमा अवसरवाद

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

अर्थशास्त्र यस्तो विषय हो जहाँ सत्ताधारी वर्गले सधैँ वैज्ञानिक व्याख्याहरूको सट्टा विचारधारात्मक सफाइहरू अघि सारिरहन्छ । यस्ता सफाइहरूलाई कुनै सग्लो अवैज्ञानिक सिद्धान्तको अङ्ग बनाउन सकिन्छ । प्रायः यस्तो भएको पनि छ । कार्ल मार्क्सले यस्तो सिद्धान्तलाई शास्त्रीय राजनीतिक अर्थशास्त्रविपरीत जाने ‘भद्दा अर्थशास्त्र’ (भल्गर इकोनोमिक्स) भन्नुभएको छ ।

बिज्ञापन

तैपनि, यस प्रकारको अर्थशास्त्रले भद्दै शैलीमा भए पनि विकसित घटनाक्रमअनुुसार व्यवस्थित तरिकाले तालमेल मिलाउने प्रयास गर्छ । यसले घटनाक्रमलाई निरन्तर (स्वार्थप्रेरित वा) विचारधारात्मक तवरले व्याख्या गर्छ । जब यसले आर्थिक परिघटनाहरूलाई अवसरवादी तरिकाले व्याख्या गर्न खोज्छ, स्थिति झन् गञ्जागोल हुन्छ ।

यहाँ पुगेपछि अर्थशास्त्र भद्दामात्र रहन्न । बरु त्यहाँबाट पनि खस्केर ‘बेइमान’ अर्थशास्त्र बन्न पुग्छ । अर्थशास्त्रको यही स्खलन नै नवउदारवादी युगको अर्थशास्त्रको विशेषता हो । यहाँ हामी तीनवटा उदाहरण हेर्नेछौँ ।

बिज्ञापन

नवउदारवादी चरणमा बढ्यो गरिबी

पहिलो उदाहरण गरिबीसँग सम्बन्धित छ । सन् १९७३७४ मा भारतको योजना आयोगले गरिबीको परिभाषा तय गरेको थियो । एक दिनमा एकजना ग्रामीण भारतीयले २४०० क्यालोरी आहार पाएन र सहरिया भारतीयले २१०० क्यालोरी पाएन भने व्यक्तिलाई गरिब मानिने भयो । व्यवहारमा भने गाउँको हकमा भारत सरकारले २२०० क्यालोरीलाई मानक मान्दै आएको छ । हामी यी सङ्ख्याहरूसँग असहमत हुनसक्छौँ । तैपनि, उनीहरूले कम्तीमा एउटा वस्तुगत मापदण्ड बनाए । त्यसलाई गरिबी दर आकलन गर्न राष्ट्रिय नमुना सर्वेक्षणको पञ्चवर्षीय बृहत् नमुना सर्वेक्षणहरूमा लागु गरियो । गरिबीको त्यो दर सन् २०१११२ सम्म र सन् २०१७१८ पनि निकालियो । पछिल्लो दर सरकारले दबाउन चाहे पनि कसैगरी खुलासा भएको थियो । यसले भारतमा गरिबी बढिरहेको स्पष्ट पार्छ । यो नवउदारवादी अर्थनीतिकै परिणाम हो ।

तर, गरिबी दरको सुरुआती आकलनपछि योजना आयोगले गरिबीको अर्को वैकल्पिक परिभाषा अघि सा¥यो । क्यालोरी आहारको मानकसँगै सो आधार वर्षको प्रतिव्यक्ति खर्चको मापन पनि गरिन्थ्यो । त्यसलाई पनि ग्रामीण र सहरिया भारतको गरिबी रेखामा मानिन्थ्यो । आधार वर्षका यी गरिबी रेखाहरूलाई उपभोक्ता मूल्य सूचकाङ्कको मद्दतले पछिल्ला वर्षहरूमा अद्यावधि गरिन्थ्यो । यसरी उपभोक्ता मूल्य सूचकाङ्कको आधारमा वर्षैपिच्छे गरिबीका नयाँनयाँ रेखाहरू तय हुँदै गए । यी रेखाभन्दा मुनिका जनतालाई नै ‘गरिब’ भनियो । तर, प्रत्येक गरिबी रेखासँगै जोडिएको क्यालोरी आहारको स्तर लगातार तल खस्किँदै गयो । अर्को शब्दमा जनताको क्यालोरी आहार खस्किरहँदा पनि तिनलाई गरिबीबाट बाहिरिएको मानिँदै गयो ।

अनेक आलोचना भयो । तैपनि, यो तरिकालाई जस्ताको तस्तै राखियो । गरिबीको मापनका लागि खालि उपभोक्ता मूल्य सूचकाङ्कको मद्दत लिइयो । गरिबी रेखा अद्यावधिक गर्ने बेला हरेकचोटि क्यालोरी आहारमा कमी आइरहेको देखिन्थ्यो ।

गरिबी घटेको दाबी

उपभोक्ता मूल्य सूचकाङ्कको आँकडाले जीवनयापन खर्चमा भइरहेको वास्तविक बढोत्तरी वा महँगीलाई कम आँकिरहेको थियो । गरिबी मापनको पद्धति अर्थहीन छ भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ । तर, यही पद्धतिलाई अथवा नवउदारवादीले देखाउने यो झिलीमिली तस्बिरलाई विश्व बैङ्कले अनुमोदन गर्दै आएको छ । भारत विश्व भोक सूचकाङ्कमा १०७ स्थानमा छ । (विश्वका १२० देशलाई यो सूचकाङ्कमा समेट्ने चलन छ ।) महामारीअघि भारत १०० औँ स्थानको वरपर हुनेगथ्र्यो । एकातिर यो चाल छ भने अर्कोतिर भारतले आफ्नो गरिबी दरलाई एकदम घटाएको छ । सन् १९७३७४ मा भारतको ग्रामीण क्षेत्रको गरिबी दर ५६.४ प्रतिशत थियो । सन् २०१११२ मा यो घटेर २५.७ प्रतिशत भएको छ । सहरी क्षेत्रमा सोही अवधिमा ४९ प्रतिशतबाट घटेर १३.७ प्रतिशत भएको छ । यो दर अझ कम हुने देखिन्छ:

जनता खुसी हुँदै जाँदा खाद्यान्न उपभोगमा कमी गर्छन्, आहारको क्यालोरी घटाउँदै स्वास्थ्य, बालबच्चाको शिक्षा आदिमा बढी खर्च गर्छन् भन्ने सरकारी अर्थशास्त्रीहरूले सफाइ दिएका छन् । त्यसैले क्यालोरी आहारमा घटौती जीवनस्तर उठेको सङ्केत हो, खस्केको होइन भन्ने उनीहरूको जिकिर छ । यो तर्क अनुभवको कसीमा झुटो प्रमाणित हुन्छ । भारतमा र बाहिर पनि प्रतिव्यक्ति आयमा बढोत्तरी हुँदा प्रतिव्यक्ति क्यालोरी आहारमा वृद्धि हुँदै आएको छ । अहिले यो तथ्यलाई एकातिर राखौँ ।

केही नलागेपछि बेइमानी

सन् २००९१० मा राष्ट्रिय सर्वेक्षणको बृहत् नमुना सर्वेक्षणले सरकारी अनुमानकै आधारमा सन् २००४०५ को तुलनामा ग्रामीण गरिबी दरमा बढोत्तरी देखायो । सन् २००४०५ को २८.५ प्रतिशतबाट बढेर सन् २००९१० मा ग्रामीण गरिबी दर ३३.८ प्रतिशत पुगेको देखियो । क्यालोरी मापदण्डका हिसाबले ग्रामीण गरिबी दर ६९.५ प्रतिशतबाट बढेर ७५.५ प्रतिशत पुगिसकेको थियो । सरकारले त्यो आँकडालाई थान्को लगाएर फेरि अर्को बृहत् नमुना सर्वेक्षण गर्ने आदेश दियो । सन् २००९१० मा खडेरी परेको हुनाले त्यसो गर्नुपरेको उसले बहाना देखायो । यसरी सन् २०१११२ मा प्रशस्त बाली भित्रिएको वर्ष नयाँ सिराबाट फेरि सर्वेक्षण भयो ।

सन् २००९१० आर्थिक वृद्धिका हिसाबले पनि खराब वर्ष थिएन । नयाँ सर्वेक्षण गर्नुको कारणका रूपमा भारत सरकारले आय घट्दा क्यालोरी आहार पनि घटेको स्वीकारेको थियो । जब कि यसअघि सरकारले योभन्दा उल्टो तर्क गर्दै आएको थियो । सरकारी अर्थशास्त्रीले आय बढ्दा क्यालोरी आहार सेवन घट्छ भन्दै आएका थिए । तर, यी दुई बाझिएका तर्कहरूमा तालमेल ल्याउने कुनै प्रयास भएन । आफूखुसी हिसाब लगाउने यो अवसरवादी तरिका नै अर्थशास्त्रको नवउदारवादी युगको बेइमानी हो ।

कृषि अनुदानमा बेइमानी

अर्को उदाहरण विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) सँग जोडिएको छ । विश्व व्यापार सङ्गठनले किसानलाई सरकारले दिने अनुदानलाई ‘बजारमा विकृति ल्याउने’ र ‘बजारमा विकृति नल्याउने’ गरी छुट्याएको छ । अमेरिका र युरोपेली युनियनजस्ता विकसित देशमा किसानलाई प्रत्यक्ष नगद रकम दिनुलाई बजारमा विकृति नल्याउने मानिन्छ । त्यसैले विश्व व्यापार सङ्गठनले चुपचाप ती अनुदानलाई स्वीकृति दिन्छ । तर, भारतजस्ता तेस्रो विश्वका देशहरूमा दिइने अनुदानलाई बजारमा विकृति ल्याउने भनिन्छ । त्यसैले विश्व व्यापार सङ्गठनले ती अनुदानमा निश्चित सीमा लगाउँछ । (यस्तो अनुदानमा समर्थन मूल्य र लागत सामग्री मूल्य दुवै जोडिएको हुन्छ ।) अमेरिकाले बर्सेनि आफ्ना मुट्ठीभर किसानहरूलाई झन्डै १०० अर्ब डलर बराबरको नगद अनुदान दिन्छ र विश्व व्यापार सङ्गठनले त्यसमा कुनै आपत्ति जनाउँदैन । तर, भारतको सरकारी खरिद मूल्य प्रणालीमाथि उसले बरोबर प्रश्न उठाउँछ । जब कि खेतीपातीको वहन क्षमता बढाउन र सार्वजनिक वितरण प्रणालीलाई कायम राख्न पनि यस्तो अनुदान आवश्यक हुन्छ ।

उनीहरू अनुदानको वर्गीकरणको कारण पनि बताउँछन् । उनीहरूको तर्कअनुसार मूल्य व्यवस्थालाई प्रभावित गर्नेगरी खेतीमा अनुदान दिँदा बजार सन्तुलन र उत्पादनको स्तरमा असर पर्छ । खासमा प्रत्यक्ष नगद अनुदान दिँदा बजारको सन्तुलनमा केही असर पर्दैन । बजार सन्तुलित हुँदा अर्थ व्यवस्थामा सरसाधनहरूको उत्तम वितरण हुन्छ भनिन्छ । सरकारले नगद अनुदान दिनु नै उपयुक्त मानिन्छ किनभने त्यसो गर्दा बजारको सन्तुलन खल्बलिन्न र उत्पादन बजारको मागभन्दा बाहिर पनि जान्न ।

यसकारण, विश्व व्यापार सङ्गठनको वर्गीकरण बेइमानीपूर्ण छ । पहिलो कुरा सैद्धान्तिक दृष्टिले पनि यस्तो वर्गीकरण गर्नु ठीक होइन । अर्को, प्रत्यक्ष नगदी अनुदानले पनि उत्पादनको स्तरमा असर पार्छ । धेरै वर्षअघि अमेरिकामा गहुँ र कपासजस्ता उत्पादनको भौतिक सामग्रीको लागत उब्जनीको मूल्त्न्दा बढी हुन गएको थियो । यस्तो स्थितिमा बजार सन्तुलनको मागअनुसार उत्पादन शून्य हुनुपथ्र्यो । तैपनि, त्यहाँ उत्पादन धनात्मक भयो । यसको अर्थ प्रत्यक्ष नगद अनुदानमार्फत सरकारले किसानहरूको वहन क्षमता बढाइरहेको थियो । त्यसैले प्रत्यक्ष नगदी अनुदानले बजारको सन्तुलन बिथोल्छ भन्नु पूर्णतः निराधार छ । उत्पादनमा त्यसको असर पर्छ नै । विश्व व्यापार सङ्गठनले जस्तै यसलाई असत्य भनी स्वाङ पार्नु गलतमात्र होइन, अवसरवादी हुनु हो । यसको एउटै उद्देश्य छ – विकसित देशहरूको स्वार्थ रक्षा गर्ने, तिनले दिने कृषि अनुदानप्रति आँखा चिम्लिने, तर भारतजस्ता देशहरूले दिने कृषि अनुदानको हकमा कडा हुने ।

खाद्यान्न उत्पादनबाट अन्यत्र लाग्दा खुसीयाली बढ्ने ढोँग

तेस्रो उदाहरण भारत सरकारको कृषि नीतिसँग सम्बन्धित छ । खाद्यान्नमा तोकिएको न्यूनतम समर्थन मूल्यको प्रावधान खारेज गर्ने विषयमा लामो समययता एउटा तर्क दिइने गरिएको छ । यस्तो प्रावधानले किसानहरूलाई अन्य आकर्षक बालीनालीतिर अघि सर्न नदिएर खाद्यान्न उब्जाउनमै मात्र सीमित राख्छ ।

भारतजस्तो तीव्र भोकको पासोमा परेको देशमा खाद्यान्न उत्पादनबाट पर गएर अन्य बालीनालीतिर लाग्ने माग गर्नु कुतर्क हो । खाद्यान्नको पर्याप्त माग नै छैन वा यसले गर्दा सरकारी खाद्यान्न भन्डार भरिँदै छ भने खाद्यान्न उत्पादनमै कमी ल्याउनुपर्छ भन्ने छैन । यसलाई समस्याको उचित समाधान भन्न मिल्दैन । बरु जनताको क्रयशक्ति बढाउनुपर्छ । हातमा पैसा आएपछि उनीहरूले पर्याप्त खाद्यान्न किन्छन् । यो कुरा छोडौँ ।

किसानहरूले खाद्यान्न उत्पादन छोडेर अन्य बालीको उत्पादन गरे भने तत्काललाई ती बालीको उत्पादनले किसानलाई बढी लाभ होला पनि । तर, ती उत्पादनको मूल्य बिस्तारै तल झरेपछि किसानहरू फेरि घाटामा जानेछन् । बरु ती बालीमा पनि न्यूनतम समर्थन मूल्यको बन्दोबस्त गरिन्छ भने कुरा अर्कै हो । अर्को शब्दमा खाद्यान्नबाट अन्य गैरखाद्यान्न बालीतिर जानुपर्ने र न्यूनतम समर्थन मूल्यको बन्दोबस्त गर्नुपर्ने विषयमा तर्क गर्नु फरक कुरा हो ।

भारत सरकारले किसानहरू खाद्यान्नबाट अन्य बालीतिर लागून् भनी चाहन्छ भने ती गैर खाद्यान्न बालीको निम्ति न्यूनतम समर्थन मूल्यको व्यवस्था गर्नुपर्छ । त्यस मूल्यलाई कडाइपूर्वक लागू गरेर सरकारले किसानहरूलाई खाद्यान्नबाट गैरखाद्यान्न बालीतिर लाग्न प्रोत्साहित गर्न सक्छ ।

खाद्यान्नबाट गैरखाद्यान्न बालीतिर किसानहरूलाई उत्साहित गर्न खाद्यान्नमा पहिलेदेखि नै लागू गरिएको न्यूनतम समर्थन मूल्य हटाउने उपाय सही छैन । यो उपाय गलतमात्र छैन, अवसरवादी पनि छ । यसरी किसानहरूको लागि समर्थन मूल्यको बन्दोबस्त नै खारेज गरेर विश्व व्यापार सङ्गठनको एजेन्डा लागू गरेजस्तो हुन जानेछ । समर्थन मूल्य हटाउनाले किसानलाई फाइदा होला भन्नु जानाजान झूट बोलेर विश्व व्यापार सङ्गठनको एजेन्डा लागू गर्नु हो । खासमा तत्कालका लागि किसानलाई फाइदा भए पनि पछि किसानहरूले घाटा व्यहोर्नुपर्नेछ र उनीहरू चर्को मारमा पर्नेछन्।

अर्थशास्त्रको नाममा बेइमानी नवउदारवादी युगको विशेषता नै हो । आफ्ना एजेन्डा अघि बढाउन नवउदारवादले यस्ता अर्थशास्त्रीहरूको फौज बनाउँछ, जो कदापि निष्पक्ष हुनसक्दैनन् ।

(‘न्युजक्लिक’ बाट) अनुवाद: सुरेश

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते