कृषि विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कीर्तिपुर नगरपालिकालाई पाँच थान कम्प्युटर र प्रिन्टर सहयोग स्वरूप हस्तान्तरण गरेको छ। असोज २४ गतेको विपत्तिपछि सेवा सुचारु गर्न संघर्षरत नगरपालिकालाई सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो। बुधबार एक विशेष कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले किर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोललाई औपचारिक रूपमा उपकरणहरू हस्तान्तरण गरेका हुन्।
बिज्ञापन
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वागमती प्रदेशका निर्देशक चन्द्र सिंह थापा, किर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ, साथै कीर्तिपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टंकलाल गैरे लगायत विभिन्न कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बिज्ञापन
नगर प्रमुख डंगोलले सहयोगप्रति आभार प्रकट गर्दै सो उपकरणले नगरपालिका कार्यालयको सेवा प्रवाह थप प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरे। यसअघि पनि कृषि विकास बैंक लिमिटेडले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको सातदोबाटो प्रहरी बिटलाई प्रविधि उपकरणहरू सहयोग स्वरूप प्रदान गरेको थियो। यस प्रकारका निरन्तर सहयोगहरूले सार्वजनिक संस्थाहरूको पुनःस्थापना तथा सेवा प्रवाहमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको छ।








