सगरमाथा रहेको सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गत आर्थिक वर्षमा आफ्नो क्षेत्रभित्रका बिरामीहरूको हवाई उद्धारमा ३६ लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ ।
बिज्ञापन
गाउँपालिकाले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार २५ जना बिरामीलाई आपत्कालीन अवस्थामा हेलिकप्टरमार्फत उद्धार गर्न उक्त रकम खर्च भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख अर्थिमाया तामाङका अनुसार आर्थिक वर्ष २०८०/८१ को अवधिमा हवाई उद्धारमा कुल ३६ लाख ७४ हजार ४ सय ८० रुपैयाँ खर्च भएको हो ।
बिज्ञापन
गाउँपालिकाका अनुसार विभिन्न वडाहरूबाट बिरामीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ, लुक्ला र फाप्लुजस्ता स्थानमा रहेका अस्पतालसम्म पुर्याइएको थियो । भौगोलिक विकटताका कारण खुम्बु क्षेत्रमा सडक यातायातको सहज पहुँच छैन, जसले गर्दा गम्भीर बिरामी तथा आपत्कालीन अवस्थामा हेलिकप्टर नै उद्धारको एक मात्र विकल्प बन्ने गरेको छ ।
सेवाका लागि विभिन्न हेलिकप्टर कम्पनीहरूले उडान भरेका थिए, जसमा स्नो आइस ट्राभल एन्ड टुर्स, अल्टिच्युड एयर, एभरेष्ट हेली, कैलाश हेलिकप्टर, तारा एयर, एयर डाइनेस्टी, मनाङ एयर र माउन्टेन हेलिकप्टर्सलगायत छन् ।








