मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधन खोसेका छन्। खोला ठेक्का नलागेको निहुँमा माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरूले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन्।
बिज्ञापन
लोहन्द्र खोलाबाट आउने राजस्वको ज्ञारेन्टी नभएसम्म गाडी आफूपनि सरकारी गाडी नचढ्ने उनले बताए। लोहन्द्रा खोलाबाट पालिकाले १ करोड ३५ लाख आम्दानी हुने अनुमान गरेको थियो। तर, ठकेदार सम्पर्कमा नआएपछि पुन ठेक्का आह्वान गर्ने निर्णय भएको थियो। सो निर्णय अदालतको आदेशपछि रोकिएको छ।
बिज्ञापन
गत माघ ३० गते कार्यपालिका बैठकले लोहन्द्रा खोला ठेक्का पाएर पनि सम्झौताका लागि नआएका ठेकेदारको धरौटी जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने र नयाँ ठेक्का आह्वान गर्ने निर्णय गरेको थियो। तर, कार्यपालिका सदस्यलाई तीन दिनअगाडि नै बैठकको सूचना नगरी अल्पमतका आधारमा निर्णय गरेको भन्दै उपाध्यक्ष चौधरीसहित वडाध्यक्षले उच्च अदालतमा रिट दायर गरेका थिए। उच्चले पालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
आज पनि ग्रामथानको कार्यपालिका बैठक बसेको थियो। कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष गुणावतीदेवी चौधरीले बताइन्। उनका अनुसार बहुपोषण कार्यक्रम र लोहन्द्रा खोला ठेक्काको विषयमा असहमति जनाएपछि बैठक स्थगित गर्दै अध्यक्षले कार्यकर्ता खटाएर चाबी खोसेका थिए।
बिज्ञापन
अध्यक्ष माझीले भने आफ्नो बाध्यता रहेको बताए। ‘उपाध्यक्ष र वडा अध्यक्षले प्रयोग गर्ने गाडी र बाइक चिठ्ठी दिएर फिर्ता ल्याए, यो मेरो पूर्वाग्रह होइन,’ उनले भने, ‘यो बाध्यता हो, म पनि स्करपिओ चढ्दिनँ।’ गत मंसिर १६ को उपनिर्वाचनमा माझी नेकपा (माओवादी केन्द्र)बाट अध्यक्षमा विजयी भएका थिए।








