भक्तपुरबाट चितवनको देवघाटतर्फ जाँदै गरेका तीर्थयात्री सवार गाडी धादिङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बिज्ञापन
२३ जना घाइते छन्। गए राति (माघ २७) करिब १० बजेर ५ मिनेटमा धादिङको थाक्रे गाउँपालिका–७, सातकिल्ला भन्ने स्थानमा बा३ख ८९२३ नम्बरको बस दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले धादिङले जनाएको छ।
बिज्ञापन
दुर्घटनामा परी दोलखाको भीरकोटकी ५० वर्षीया पार्वती काफ्लेले मृत्यु भएको छ। काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार (माघ २८) बिहान १ बजेर ५ मिनेटमा उनको मृत्यु भएको धादिङका डीएसपी सुवास हमालले जानकारी दिए।
घाइतेको उपचार जारी छ। प्रहरी अस्पतालमा नौ, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, काठमाडौंकै बाँसबारीस्थित न्युरो अस्पतालमा पाँच र धादिङको साइबाबा अस्पतालमा एक घाइतेको उपचार भइरहेको उनले बताए।
बिज्ञापन
उनका अनुसार, अधिकांश घाइते पनि दोलखाकै छन्। “रिजर्भ गाडी दुर्घटना भएको हुन सक्ने अनुमान छ,” डीएसपी हमालले भने, “अरू घाइते रिकभर (ठिक) हुन सक्ने अवस्थाको देखिन्छ।”








