सहारा सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। लामिछानेसहित ३२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा अदालतमा मुद्दा दर्ता भएको हो।
बिज्ञापन
मंगलबार सरकारी वकिल कार्यालय चितवनले रवि लामिछाने सहित ३२ जनालाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी तथा संगठित अपराध कसुरमा अदालत मुद्दा दर्ता गरेको हो। प्रहरीको अनुसन्धान प्रतिवेदन र प्रमाणहरूको आधारमा सरकारी वकिल कार्यालयले लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १५ तथा पछि थप १७ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ।
बिज्ञापन
उनीहरू विरुद्ध सरकारी वकिल कार्यालयले ३८ करोड ९ लाख रुपैयाँ बिगो दाबी गरेको विश्वकर्माले बताए। उक्त मुद्दामा बुधबारदेखि बहस हुने उनले बताए। विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएसँगै चितवन झिकाउन पत्राचार गरिएको उनको भनाई छ। मुद्दा दर्ता भएसँगै रवि लामिछाने स्वयम् अदालतमा उपस्थित हुन काठमाडौँबाट चितवन आउने क्रममा रहेको जानकारी गराइएको सूचना अधिकारी विश्वकर्माले बताए।
अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको छ। गोरखा मिडियामा सहारा बचतबाट १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ अपचलन भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाई छ। जीबी ग्रुप अफ कम्पनीमा ९ करोड ७० लाख र नेचर हब्र्समा ९ करोड ७३ लाख ८१ हजार अवैध तरिकाले गएको भेटिएको छ। स्प्रिङ उड र नेचर नेस्टमा पनि गलत तरिकाले रकम गएको भेटिएको प्रहरीले जानकारी दिएको छ।








