त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
बिज्ञापन
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ।
बिज्ञापन
क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो। ‘उनले त्यो के हो भनेका छैनन्, तर लागूऔषध भएको शंका लागेर केरकार गरेका थियौं’, विमानस्थल सुरक्षमा खटिएका एक अधिकृतले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पनि लागूऔषध जस्तो देखिने वस्तु बरामद भएपछि लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई बुझाइएको पुष्टि गरेका छन्। उनले भने, ‘नियमित जाँचका क्रममा भेटिएपछि थप अनुसन्धानका लागि पठाएका छौं।’
बिज्ञापन
लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ। ‘नतिजा आएपछि सार्वजनिक गर्छौं’, ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले भने।
स्रोतका अनुसार, पक्राउ परेका चिनियाँ नागरिकले आफूलाई एक जना व्यक्तिले निश्चित रकम दिने गरी लगिदिन भनेको बताएका छन्। ‘मलाई उनले विद्युतीय सामान छ भनेका थिए, मलाई यस्तो सामान छ भन्ने थाहा थिएन’, उनले दाबी गरेका छन्।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ।








