सशस्त्र प्रहरी बलमा ३ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त भएको छ। दुईवटा दरबन्दी भदौ १६ देखि रिक्त भए पनि बढुवा सिफारिस हुन सकेको थिएन।
बिज्ञापन
नम्बर–९ पशुपतिनाथ बाहिनीका बाहिनीपति किशोर प्रधान माघ २२ मा अवकाशमा गएका छन्। प्रधानको अवकाशसँगै रिक्त दरबन्दी संख्या ३ पुगेको छ। २०८१ भदौ १६ मा अभि नारायण खत्री र दुर्गा भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएका थिए। बढुवा प्रतिस्पर्धामा सिसम–१ का कृष्ण ढकाल, मनिष थापा र सिसम–२ का दीपेन्द्र कुँवर छन्। ढकाल र थापा सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएका पहिलो ब्याचका अधिकृत हुन्। उनीहरू २०५९ कार्तिक २६ मा सेवा प्रवेश गरेका थिए।
बिज्ञापन
सिसम–२ का दीपेन्द्र कुँवर सँगै विष्णु भट्ट पनि डीआईजीका दाबेदार हुन्। उनी वरीयतामा कुँवर भन्दा पछाडि छन्। भट्ट अहिले युएन मिसन अन्तर्गत सोमालियामा कार्यरत छन्। सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मध्येमा १ नम्बर वरीयतामा छन् कृष्ण पाठक। उनी नेपाल प्रहरीको प्राविधिकतर्फबाट सशस्त्रमा प्रवेश गरेका थिए। पाठकले एपीएफ कमाण्ड तथा स्टाफ कलेज पास गरेका छैनन्। सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार सशस्त्रमा डीआईजी हुन स्टाफ कलेज पुरा गर्नुपर्छ।
बढुवा प्रतिस्पर्धाको दुई नम्बर सूचीमा रहेका कृष्ण ढकाल, तेस्रो नम्बरका मनिष थापा र सिसम–२ का दीपेन्द्र कुँवरले स्टाफ कलेज पास गरेका छन्। एसएसपीहरूको सूचीमा चार नम्बर वरीयतामा रहेका विनोद श्रेष्ठ र प्रकाश थापाले पनि स्टाफ कलेज पास गरेका छैनन्। स्टाफ कलेज पुरा नगर्नेहरू बढुवा नहुने सशस्त्र प्रहरीका एक जना उच्च अधिकृतले बताए। सशस्त्र प्रहरी नियमावली अनुसार ३ पटकसम्म प्रवेश परीक्षामा फेल भएमा स्टाफ कलेज गर्न पाइँदैन। सिसम–१ मा भर्ना भएका अधिकृतहरूले स्टाफ कलेज नगरे नायव महानिरीक्षक हुन नपाउने व्यवस्था छ।
बिज्ञापन
नेपाल प्रहरीबाट गएका एसएसपी कृष्ण पाठकलाई स्टाफ कलेज लागु नहुने भए पनि उनी कार्यक्षमतामा कमजोर अधिकृतका रूपमा चिनिन्छन्। सशस्त्र प्रहरीका एक जना उच्च अधिकृत भन्छन्, ‘धेरै पटक कारबाही भोगेको र कार्यक्षमता कमजोर भएको हुनाले पनि पाठक प्रतिस्पर्धामा पछाडि छन्।’








