सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज (मंगलबार) कास्कीको पोखराबाट काठमाडौं ल्याउने प्रक्रियामा ढिलाइ भएको छ।
बिज्ञापन
आज (मंगलबार) बिहान ११ बजेसम्म पनि काठमाडौंबाट हवाई टिकट प्राप्त नभएकाले ढिलाइ भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। ‘हालसम्म काठमाडौं प्रहरीबाट कुनै कागजात र हवाई टिकट प्राप्त भएको छैन,’ कास्कीक प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले नेपालभ्युजसँग भने।लामिछानेलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको हवाईजहाजबाट काठमाडौं पठाउने भनिएको थियो । तर त्यसमा ढिलाइ भइरहेको छ ।
बिज्ञापन
अब उनलाई आज साँझतिर मात्रै काठमाडौं ल्याउने सम्भावना रहेको काठमाडौं प्रहरीका एक अधिकारीले नेपालभ्युजलाई जानकारी दिए। कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई आज जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराउने कार्यतालिका छ।
लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशी र कुमार रम्तेललाई यसअघि नै काठमाडौंमा ल्याएर बयान लिइ पुनः पोखरा फर्काइसकिएको छ। पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते अपराध गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा छन्।
बिज्ञापन
आइतबार मात्रै कास्की जिल्ला अदालतले उनलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । यसपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो।
लामिछानेलाई दुई वा तीन दिन काठमाडौंमा राखेर बयान लिने बताइएको छ। पोखराको सूर्यदर्शनलगायत सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।
लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ।








