नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा मंगलबार स्वर्ण पदक जितेका छन्। उनीहरु दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे।
बिज्ञापन
बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित गरिन्। सेमिफाइनलमा स्वस्तिकाले ब्राजिलकै बारोस फरेरा मार्सेलो डिलाई ५–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरेकी गरेकी थिइन्। समग्रमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो। स्वस्तिकाले सन् २०२१ मा दुबइमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेकी थिइन्।
बिज्ञापन
ठमेलस्थित एभरेष्ट माविबाट प्लस टु उत्तीर्ण गरेकी कञ्चनपुरकी स्वस्तिकाले जोर्डनमा भएको एएसबीसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन्। सन् २०२१ बाट बक्सिङ खेल्ने थालेकी स्वस्तिकाले २ वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन्। बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन्।
जितपछि स्वस्तिकाले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेकोमा खुशी व्यक्त गर्दै यो अवसर प्रदान गर्ने नेपाल बक्सिङ संघ र प्रशिक्षक दीपक महर्जनलाई धन्यवाद दिइन्।
बिज्ञापन
पुरुष ८० केजीमुनि युथमा नोर्बुले फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३–२ ले हराए। सेमिफाइनलमा उनले बहराइनका अनास अल जलाकीलाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरेका थिए।
नोर्बुको भने यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो। उनको दोस्रो अन्तर्राष्ट्रिय सहभागिता हो। कक्षा १२ मा लोयल्टी एकेडेमीमा अध्ययनरत नोर्बुले करिब १ वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए। पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका ४ खेलाडीले पदक जिते। नेपालले समान २–२ स्वर्ण र कांस्य जित्यो।
पुरुष ४६ केजीमुनि रोहित जनाला तथा पुरुष ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे। युनिक राई मात्र पदकविहीन बने। उनले पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गरेका थिए।








