‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दसैँ महोत्सव २०८१ आयोजना हुने भएको छ। घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको हो।
बिज्ञापन
घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताए। काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहने उनले बताए। लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उनले जानकारी दिए।
बिज्ञापन
घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवर्द्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा वृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताए। काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंसँगको सहकार्य र सहआयोजनामा गरिन लागेको यो दोस्रो जिल्लास्तरीय औद्योगिक प्रदर्शनी घरेलु उद्यमी मेला तथा दशैं महोत्सवमा बढीभन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरुलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरुको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताए।
रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई प्रदर्शनीमार्फत स्वदेशमै केही अवसरहरु छन्, हामीले चाहेको अवस्थामा केही गरौं आफ्नै देशमा, रोजगार सिर्जना गरौं आफ्नै देशमा भन्ने मनोभावनाका साथ काम गरौं भन्ने मेलाको मुख्य ध्येय रहेको छ । नेपाल सरकारमार्फत पनि स्वदेशी उद्योग तथा उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि प्रतिष्पर्धी बजारमा स्वदेशी उत्पादनहरुलाई लागत घटाउनको लागि आवश्यक करका दरहरुदेखि दर्ता, नवीकरणका कार्यहरु समेत सहज गनुपर्ने अवस्था देखिएको मेला संयोजक श्रेष्ठले बताए।
बिज्ञापन
नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरुङले देशको व्यापारघाटा न्यूनीकरण गर्नुका साथै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणमा व्यापार मेलाको उल्लेख्य भूमिका रहेको बताइन्। नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष तथा संघका सल्लाहकार आङदेण्डी शेर्पाले मेलाको सफलताको कामना गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुको प्रवद्र्धन गर्न यस्ता मेलाहरुको आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे।








