नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउने आश्वासन दिएका छन् । उनले बाहिर हल्ला गरेर अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन पनि आह्वान गरे ।
बिज्ञापन
आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको अधिकारीले बताए । केहीले नेताहरु भेट्दै १६/१८ प्रतिशत ब्याज बैंकले लिएको भन्दै हिँड्ने गरेको भन्दै उनले सो दरको ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह गरे ।
बिज्ञापन
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा केही पर सर्नुमा थप डाटा पर्खिरहेको उनले बताए । अर्थमन्त्री र गर्भनर बीच सम्बन्धमा कुनै समस्या नरहेको उनले स्पष्ट पारे । ‘बजेटमा भएको कुन बिषयमा राष्ट्र बैकले सहयोग गरेको छैन?’ उनले भने ‘राष्ट्र बैंकले सरकारसँग समन्वयात्मक रुपमा काम गरिरहेको छ ।’
पछिल्लो समय आर्थिक शिथिलताका कारण खराब कर्जा बढेको उल्लेख गर्दै गभर्नर अधिकारीले खराब कर्जा बढेकै कारण अहिले लाभांशमा कडाइ गर्नु परेको बताए । रिपेमेन्टका कारण केही व्यवसायीमा समस्या परेको उनले स्वीकार गरे । ऋण लिएपछि तिर्ने योजना पनि बनाउनु पर्ने भन्दै उनले भने ‘घाँटी हेरेर हाड निल्नु पर्छ नि!’ अर्थतन्त्रमा उतारचढाव संसारभर आउने गरेकाले यसलाइ सबै मिलेर चिर्नुपर्ने उनको भनाइ छ ।








