महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ । तर, सबै महिलामा पेट दुखाईको किसिम सामान्य खालको हुँदैन । कसैलाई त्यो पीडा असह्य किसिमको हुन्छ। महिनावारी हुँदा महिलालाई दुई प्रकारको पीडा हुन्छ । पहिलो पेटको तल्लो भागमा हुने दुखाइ र दोस्रो अलि गहिरो दुखाइ हुन्छ । यो पीडा महिनावारी सुरु हुनुभन्दा एक साता अघि बढ्छ र कहिलेकाहीँ यसका कारण कब्जियत र ग्यासको समस्या पनि हुन्छ ।
बिज्ञापन
महिनावारीको बेला धेरै किशोरी या महिलाको एउटै गुनासो हुन्छ। ‘तल्लो पेट दुख्यो’, ‘पेट दुखेर स्कुल जानै सकिनँ’, ‘काममा जान सकिनँ’ यस्ता गुनासो हरेक घरमा सुनिन्छ। कोही त यति धेरै दुखाइबाट गुज्रिन्छन् कि मानौं भित्र कुनै ठुलै रोग छ। चिकित्सकका अनुसार महिनावारीको बेला शरीरमा हर्मोनमा परिवर्तन आउँछ। हर्मोनको परिवर्तनले पाठेघरको भित्री तहमा रहेको पत्र (इन्डोमेट्रियोसिस) महिनावारीकै क्रममा झर्छ।
बिज्ञापन
महिनावारीको क्रममा पाठेघरभित्रबाट रगत पनि बाहिर निस्कन्छ। त्यो पत्र तथा रगत बाहिर निकाल्न पाठेघर प्राकृतिक रूपमै खुम्चिन्छ । यो खुम्चेर रगत बाहिर निस्कने क्रममा तल्लो पेट दुख्ने गर्छ। यो समस्या कुल महिलाको १० प्रतिशतमा देखिन्छ। महिलाको शरीरको बनोट र मनोसामाजिक अवस्थाअनुसार कसैलाई बढी दुखेको अनुभव हुन्छ भने कसैलाई कम ।
अविवाहित या बच्चा नजन्मेको अवस्थामा यो दुखाइ रहिरहन्छ। बच्चा जन्मेपछि हराउँछ। महिनावारी हर्मोनबाहेक अन्य कारणले पनि महिनावारीको बेलामा तल्लो पेट दुख्छ । इन्डोमेट्रियोसिस (पाठेघरको भित्री पत्र) पाठेघरभित्र गएमा, पाठेघरको शल्यक्रिया गरेमा, अण्डाशय र ट्युबमा संक्रमण भएमा, परिवार नियोजनको साधन कपर–टी राखेको दुई/चार महिनाभित्र, पाठेघरभित्र कुनै प्रकारको संक्रमण वा ट्युमर भएमा महिनावारीको बेला तल्लो पेट दुख्छ।
बिज्ञापन
तल्लो पेट दुख्नु यीमध्ये कुन कारणले हो, त्यसको पहिचान गरी उपचार गर्न सकिन्छ । तर अविवाहित महिला जसको बच्चा पनि भएको छैन र पाठेघरभित्र कुनै रोग छैन भने खास उपचार छैन। यस्तो अवस्थामा केही घरेलु उचपारबाट पनि दुखाइ न्यून गर्न सकिन्छ। जस्तो कि महिनावारीको बेला तातो झोल कुरा खाने, हटब्यागले तल्लो पेट सेक्ने या तेलले विस्तारै मालिस गर्न सकिन्छ। अन्य कारणले भए चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्ने हुन्छ । जुनसुकै कारणले तल्लो पेट दुखेको भए पनि पहिला कारण थाहा पाएर मात्र उपचारतिर लाग्नुपर्छ।’
अविवाहित, ग्रामीण भेगका महिला र जो पहिलो पटक महिनावारी हुन्छन्, उनीहरू लाजका कारण पेट दुखे पनि उपचार गर्न जाँदैनन्। पछिल्लो समय भने शिक्षित तथा सहरमा बस्ने अविवाहित किशोरी पनि तल्लो पेट दुखेपछि उपचारमा आउने चलन बढिरहेको छ।
– दुखाइ कम गर्न अपनाउनुहोस् यी उपाय:
१-ज्वानो
महिनावारीको समयमा महिलामा ग्यासको समस्या बढी हुन्छ । ग्यासको समस्याले पनि पेट दुख्ने गर्छ । ग्यास भगाउन ज्वानोको सेवन प्रभावकारी हुन्छ । थोरै ज्वानोमा वीरे नुन मिसाएर तातो पानीसँग खाँदा ग्यासको समस्या समाधान हुन्छ ।
२-अदुवा
महिनावारीको समयमा हुने दुखाइ कम गर्न अदुवाको प्रयोग निकै फाइदाजनक हुन्छ । अदुवाको टुक्रालाई एक कप पानीमा उमालेर पिउँदा त्यसले लाभ गर्छ ।
३-मेवा
महिनावारीको समयमा मेवा खाँदा पाचन क्रियामा सुधार हुन्छ । महिनावारीको समयमा मेवा खाँदा दुखाइमा पनि आराम मिल्छ । जसका कारण रगतको प्रवाह पनि राम्रो रहन्छ ।
४-तुलसी पत्ता
तुलसी एक प्राकृतिक दुखाइ निवारक र एन्टिबायोटिक हो । महिनावारीको समयमा धेरै दुखाइ हुन्छ भने चियामा तुलसीको पात हालेर पिउँदा राहत हुन्छ ।
५-दुग्ध पदार्थ
क्याल्सियमको कमीले पनि महिनावारी हुँदा दुख्ने हुन्छ । त्यस्तो अवस्थामा दुग्धजन्य पदार्ध खाँदा क्याल्सियमको पूर्ति भएर दुखाइ कम हुनसक्छ ।
६-तातो पानी
महिनावारीको समयमा पेट र कम्मरमा कडा दुखाइ हुन्छ । तातो पानी निरन्तर पिउँदा पनि यस्तो दुखाइबाट छुटकारा पाउन सकिन्छ । त्यसबाहेक ढाड र पेटमा हल्का तेल मालिस, पर्याप्त आराम पनि जरुरी हुन्छ । धुम्रपानले अक्सिजनको मात्रा घटाएर महिनावारीका बेला दुखाइ झन् बढाउँछ । त्यसले गर्दा धुम्रपान गर्ने आदत भए त्यसलाई तत्कालै छाड्नुपर्छ ।
साथै उच्च फाइबरयुक्त खाना, सलाद र तरकारीहरू पर्याप्त खाँदा राहत हुन्छ ।








