बिज्ञापन
नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् प्रयोग गरे पनि प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूमाथि कारबाही सुरु गरेको छ।
बिज्ञापन
मंगलबार बिहान प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत आपूर्ति लाइन काटेको हो।
यी उद्योगहरूले लामो समयदेखि अर्बौ रुपैयाँ बराबरको विद्युत महसुल तिरेका छैनन्। प्राधिकरणका अनुसार तिनीहरूले तिर्न बाँकी रकम निम्नानुसार छ:
बिज्ञापन
जगदम्बा स्टील – १ अर्ब ६० करोड रुपैयाँ
रिलायन्स स्पिनिङ मिल्स – ७५ करोड ३७ लाख रुपैयाँ
शिवम् सिमेन्ट – ७७ करोड ८८ लाख रुपैयाँ
घोराही सिमेन्ट – ५० करोड ८५ लाख रुपैयाँ
अर्घाखाँची सिमेन्ट – ४४ करोड ८४ लाख रुपैयाँ
त्रिवेणी स्पिनिङ मिल्स – ३२ करोड १० लाख रुपैयाँ
प्राधिकरणका अनुसार यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेवापतको प्रिमियम महसुल हो। ती उद्योगहरूले लोडसेडिङको समयमा विशेष लाइनमार्फत विद्युत प्रयोग गरे पनि त्यसअनुसारको अतिरिक्त शुल्क तिरेका थिएनन्।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार तिहारको बिदामा पनि उद्योगहरूले रकम बुझाउन सकून् भनेर विशेष काउन्टरको व्यवस्था गरिएको छ। उनले भने, “किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसुकै समयमा काटिएको लाइन पुनः जडान गरिनेछ।”
प्राधिकरणले पटक–पटक सूचना दिँदासमेत रकम नतिरेकाले अन्ततः आपूर्ति रोक्ने निर्णय गर्नुपरेको जनाएको छ। प्राधिकरणले बाँकी उद्योगहरूमाथि पनि असुली अभियानलाई निरन्तरता दिने चेतावनी दिएको छ।








