गुगलले आफ्नो जेमिनी एपमा नयाँ र अत्याधुनिक फोटो सम्पादन उपकरण ‘नानो बनाना’ सार्वजनिक गरेको छ। गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले तीनवटा केरा इमोजीसहितको पोस्टमार्फत यसको संकेत दिएका थिए।
बिज्ञापन
गुगल डिपमाइन्डद्वारा विकास गरिएको यो टुललाई प्रारम्भिक परीक्षणमा अत्यन्त प्रभावकारी र प्रयोगमैत्री मानिएको छ। अबदेखि सबै जेमिनी एप प्रयोगकर्ताहरूले यो सुविधा उपयोग गर्न सक्नेछन्। गुगलका अनुसार, ‘नानो बनाना’ को मुख्य उद्देश्य सम्पादन गरिएका तस्बिरहरूमा रहेका मानिस, जनावर वा वस्तुहरूलाई यथार्थ झैँ देखाउनु हो। खासगरी अनुहारहरू कृत्रिम देखिने गुनासोहरू समाधान गर्न यो टुल तयार पारिएको हो।
बिज्ञापन
यस टुलमार्फत प्रयोगकर्ताहरूले आफ्नो तस्बिरमा हेयरस्टाइल परिवर्तन गर्न, नयाँ लुगा थप्न, पुराना समयको लुक दिन वा सुपरहीरो पोशाक लगाउन सक्नेछन्। साथै, घरपालुवा जनावरलाई फोटोमा पोशाक लगाउने सुविधा पनि उपलब्ध छ।
‘नानो बनाना’ प्रयोग गर्न, प्रयोगकर्ताले आफ्नो तस्बिर जेमिनी एपमा अपलोड गरी आवश्यक परिवर्तनहरू प्रम्प्टमार्फत बताउनु पर्नेछ। टुलले सम्पादन गरे पनि अनुहार र तस्बिरको मौलिकता भने यथावत् राख्नेछ। यो टुलले अनेकौं फोटोहरूलाई संयोजन गर्न पनि सक्छ। ‘डिजाइन मिक्सिङ’ नामक विशेषतामार्फत एउटै तस्बिरको शैली अर्कामा लागू गर्न मिल्ने भएकाले प्रयोगकर्ताहरूले अझ रचनात्मक तस्बिर बनाउने अवसर पाउनेछन्।
बिज्ञापन
गुगलले ‘नानो बनाना’ लाई भविष्यको स्मार्ट र सर्जनात्मक फोटो सम्पादनको महत्वपूर्ण कदमका रूपमा चित्रित गरेको छ।








