देशभर आज १५ असार अर्थात् ‘धान दिवस’ मनाइँदैछ । खेतमा हिलो खेल्दै, धान रोप्दै र दही चिउरा खाँदै यो पर्व किसान मात्र होइन, सबै नेपालीले सांस्कृतिक उत्सवका रूपमा मनाउँदै आएका छन् ।
बिज्ञापन
असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाउने निर्णय वि.सं. २०६१ मा मन्त्रीस्तरीय बैठकबाट भएको हो । त्यसयता वि।सं। २०६२ सालदेखि नेपालमा यो दिनलाई औपचारिक रूपमा धान दिवसको रूपमा मनाइँदै आएको छ । कृषिप्रधान देश नेपालमा धान रोपाइँको मुख्य सिजन असार भएकाले किसानहरूको योगदानलाई सम्मान गर्दै यो दिनको सुरुवात गरिएको हो ।
बिज्ञापन
धान दिवसको अवसरमा खेतमा काम गर्ने किसानले शारीरिक तन्दुरुस्तीका लागि दही चिउरा खाने परम्परा छ । दही शरीर शीतल राख्ने, पाचन शक्ति बढाउने र ऊर्जा दिने आयुर्वेदिक गुणयुक्त खाद्यपदार्थका रूपमा लिइन्छ । असार १५ लाई त्यसैले ‘दही चिउरा खाने पर्व’ का रूपमा समेत चिनिन्छ । शुभ कार्यको सुरुवात दहीबाट हुने हाम्रो संस्कारमा आजको दिन अझ महत्त्वपूर्ण मानिन्छ ।
गोरखनाथले पृथ्वीनारायण शाहलाई दही खुवाएर पराक्रमी बनाएको प्रसङ्गदेखि लिएर “भोजनान्ते पिबेत् तक्रं, वैद्यस्य किं प्रयोजनम्” भन्ने आयुर्वेदिक भनाइसम्म दहीको महत्त्व नेपाली समाजमा गहिरो छ । पखालामा औषधिको रूपमा प्रयोग हुने दही चिउरा आज सांस्कृतिक भोज बनेर विकसित भएको छ ।
बिज्ञापन
असार १५ का दिन खेतमा रोपाहार र लाठेले रोपाइँसँगै रमाइलो गर्छन्, हिलो छ्यापाछ्याप र दोहोरी गीत गाउँदै मनोरञ्जन गर्छन् । तर, यस वर्ष देशका धेरै ठाउँमा वर्षा नहुनु र रासायनिक मलको अभावको गुनासोसँगै अपेक्षित मात्रामा धान रोपाइँ हुन नसकेको किसानको भनाइ छ । यद्यपि, कृषि मन्त्रालयले मलको पर्याप्त मौज्दात रहेको दाबी गरेको छ ।
आजको दिन नेपाली समाजमा कृषिप्रतिको सम्मान, प्रकृतिसँगको सहजीवन र सांस्कृतिक पहिचानको प्रतिक बनेको छ — असार १५, धान दिवस र दही चिउराको पर्व।








