प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र विकासको बाटोमा तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।
बिज्ञापन
शनिवार राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागले एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको ‘युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश’ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरे । ओलीले देशलाई ओरालो लाग्नबाट जोगाउन र बिना अवरोध सुशासन कायम गर्न एमालेलाई आगामी निर्वाचनमा बहुमत दिनुपर्नेमा जोड दिए । “हामीले एमालेको नेतृत्व आवश्यक छ भन्ने बुझ्न ढिलो गर्यौँ । साना स्वार्थ बोकेकाहरूले हाम्रोविरुद्ध भ्रम फैलाएका छन् । त्यस्ता भ्रममा नपर्न युवाहरूले एमालेलाई साथ दिनुपर्छ,” उनले भने ।
बिज्ञापन
उनले हालै एमालेबाहिरका एक व्यक्तिले देशको अर्थतन्त्र र राजनीति बिग्रनबाट जोगाउन एमालेको नेतृत्व अपरिहार्य रहेको बताएको प्रसङ्ग पनि सुनाए । “उनले मलाई भने, ‘यो देशलाई ओरालो लाग्नबाट बचाउन र अर्थतन्त्र–राजनीति जोगाउन एमालेको सरकार चाहिन्छ,’” ओलीले उद्धृत गरे ।
प्रधानमन्त्री ओलीले युवाहरूलाई एमालेमा जोडिन आह्वान गर्दै मेहनत र अनुभवबाट नेतृत्वमा पुग्न सकिने बताए । “म युवाहरूलाई तुरुन्तै अध्यक्ष बनिहाल्न भन्दिनँ। एमालेमा आउनुस्, काम र अनुभवबाट नेतृत्वमा पुग्न सकिन्छ। मेसी, एम्बापे पनि एकै दिन बनेनन् । डाक्टर, इन्जिनियर बन्न मेहनत र समय चाहिन्छ,” उनले भने ।
बिज्ञापन
कार्यक्रममा युवा उद्यमीहरूलाई सम्मान गरिनुका साथै विभिन्न व्यक्तिहरू एमालेमा प्रवेश गरेका थिए । ओलीको यो भनाइले आगामी निर्वाचनमा एमालेको रणनीति र युवा लक्षित अभियानलाई थप बल पुर्याउने देखिन्छ ।








