भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)अध्ययन पूरा नगरी फर्किएका नेपाली विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयले क्रेडिट ट्रान्सफरको सुविधा दिने भएको छ।
बिज्ञापन
शुक्रबार विश्वविद्यालयको सूचना प्रविधि महाशाखाले एक विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था सुरु गरेको जानकारी दिएको हो। “उच्च शिक्षाका लागि विदेश गएका तर अध्ययन पूरा गर्न नसकी स्वदेश फर्किएका विद्यार्थीलाई पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा क्रेडिट ट्रान्सफरको सुविधा दिइनेछ। विश्वविद्यालयको प्राज्ञिक परिषद्ले निर्धारण गरेको मापदण्ड अनुसार नेपाल सरकारको समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेपछि विद्यार्थीहरूले यो सुविधा लिन सक्नेछन्,” विज्ञप्तिमा भनिएको छ।
बिज्ञापन
यस व्यवस्थाले विदेशबाट फर्किएका विद्यार्थीलाई आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिन सहज हुने विश्वास विश्वविद्यालयले लिएको छ । यसमा केआईआईटीबाट फर्किएका विद्यार्थीलाई भनेर प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन। यद्यपि पछिल्लो समय नेपाली केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको आत्महत्या प्रकरणपछि अधिकांश नेपाली विद्यार्थी असुरक्षा महसुस गर्दै नेपाल फर्किएका छन् । सुरक्षाको कारण देखाउँदै नेपाल फर्किएका विद्यार्थी क्याम्पसले हारगुहार गरे पनि फर्किन तयार छैनन्। त्यसैलाई मध्यनजर गर्दै विश्वविद्यालयले यो सुविधा ल्याएको जनाइएको छ।
यससँगै पूर्वशिक्षामन्त्री एवम् प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले आफूले सक्ने जति पहल गरिरहेको बताएकी छिन्। सामाजिक सञ्जालमा पोस्ट राख्दै सांसद् श्रेष्ठले भनेकी छिन्, “यो सानो सफलता हो । तर, हामीले गर्नुपर्ने धेरै छ। म आफूले सक्नेजति गर्छु।”








