कैलालीको विवाह समारोहमा झडप हुँदा तीन जना घाइते भएका छन्। उक्त झडपमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
जिल्लाको बर्दगोरिया गाउँपालिका– ६ का केशब नेपालीकी छोरी डम्मराको विवाहमा प्रवेश गरेर कुर्सी तोडफोड गर्ने सुशील बम र घोडाघोडी नगरपालिका –३ का २२ वर्षीय प्रमोद परियारमाथि कुटपिट भएको जनाइएको छ। उनीहरू कुटपिटबाट घाइते भएका छन्। बमलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ। उनको साथबाट चक्कु बरामद गरिएको कैलालीका प्रहरीले जनाएको छ।
बिज्ञापन
उनीसँगै विवाहमा लफडा गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए। उनका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल जोशी र लम्कीचुहा नगरपालिका– १० बस्ने २२ वर्षीय दिनेश खत्री रहेका छन्।
उता सुख्खडमा विवाहमा रमाइलो गर्ने क्रममा एक किशोरमाथि कुटपिट भएको डीएसपी बोहराले बताए। घोडाघोडी नगरपालिका–७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाउने क्रममा १५ वर्षीय किशोरमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
बिज्ञापन
कुटपिटको आरोपमा घोडघोडी नगरपालिका–७ का २३ वर्षीय आकाश बिक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र २७ वर्षीय दुर्गा पुनामीमगर पक्राउ परेका छन्।








