गत असोज ११ र १२ गते परेको अविरल वर्षाले पुष्पखेतीमा क्षति पुर्याएको कारणले गर्दा सयपत्री फूलको मूल्य बढ्ने भएको छ।
बिज्ञापन
वर्षाको कारण फुल्न थालिसकेको सयपत्री फूलमा नोक्सानी भएपछि अब तिहारमा छिमेकी देश भारतबाट सयपत्री फूलको माला आयात गर्ने भएको छ। फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेलेका अनुसार भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको छ। गत वर्ष रु ६५ देखि ७० सम्म एउटा मालालाई परेको भए पनि यस वर्ष प्रतिगोटा रु ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने उनले बताए। अविरल वर्षाले कारण करिब रु १५ करोडको फूल नोक्सान भएको थियो ।
बिज्ञापन
अध्यक्ष बादेका अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको माग छ। गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो। बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ।
यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ। फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले यस वर्षको तिहारमा १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो।
बिज्ञापन
बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ। विशेष गरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र प्रणय दिवसमा प्रयोग गरिने रातो गुलाब भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता अझै टरेको छैन।
नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन्।
व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन्। नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन्।








