प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।
बिज्ञापन
असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् । तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका छन् । प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भएका हुन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उपस्थित सांसद २५८ जना थिए । प्रचण्डले मागेको विश्वासको मतको पक्षमा ६३ मत र हुन्न भन्ने पक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए । उनले मत दिन्न भन्ने पक्षमा १ मत परेको बताए।
बिज्ञापन
२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका प्रचण्ड यससँगै १८ महिनामा सरकारबाट बिदा भएका छन् । यसअघि चार पटकसम्म प्रधानमन्त्रीले सदनमा विश्वासको मत पाएका थिए । एमालेको समर्थन फिर्तापछि असार २१ गते संसद्मा पत्राचार गर्दै प्रधानमन्त्रीले विश्वासको मतको कार्यसूची अगाडि बढाइदिन आग्रह गरेका थिए । उनी एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री भए थिए । पहिलो पटक प्रधानमन्त्रीले सदनमा करिब शतप्रतिशत मत पाएका थिए । २०७९ पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदा उनले २६८ मत पाए । उपस्थितमध्ये दुई सांसदले मात्रै विपक्षमा मतदान गरे । कांंग्रेस र एमालेसहित सबै दलले प्रधानमन्त्रीलाई विश्वास दिएका थिए ।
राष्ट्रपति निर्वाचनको समयमा एमाले र माओवादी केन्द्रको गठबन्धन भत्किएपछि प्रचण्डले दोस्रो पटक २०७९ चैत ६ मा विश्वासको मत लिनु परेको थियो । उनले दोस्रो पटक १७२ मत पाए । एक वर्षको सत्ता सहयात्रापछि कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरे । गठबन्धन फुटेसँगै उनले तेस्रो पटक २०८० फागुन ३० मा विश्वासको मत लिए । तेस्रो पटक उनले १५७ मत पाए । यस्तै सरकारमा सहभागी जनता समाजवादी पार्टी ९जसपा० नेपाल गत वैशाख २१ गते विभाजन भएपछि एक पक्षले समर्थन फिर्ता लियो ।
बिज्ञापन
त्यसपछि प्रचण्डले २०८१ जेठ ७ गते चौथो पटक विश्वासको मत लिए । चौथो पटक पनि उनले १५७ मत पाए । पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्डलाई यस पटक नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा ९एकीकृत समाजवादी० को मात्रै साथ मिल्यो । जसमा माओवादीका ३२, रास्वपाका २१ र एकीकृत समाजवादीका १० सहित ६३ सांसद उनको पक्षमा उभिए । यही असार १७ गते राति नयाँ समीकरणमा जाने निर्णय गरेका ठूला दल कांग्रेस र एमाले विपक्षमा उभिए । यस्तोमा प्रधानमन्त्रीले सदनको बहुमत पुर्याउन आवश्यक १३८ मत ल्याउन नसक्दा सत्ताबाट बिदा भएका छन् ।








