होमपेज > १६८ मुरी धान फलाउने एक दम्पती ५० हजारबाट पुरस्कृत

१६८ मुरी धान फलाउने एक दम्पती ५० हजारबाट पुरस्कृत

बिज्ञापन
बिज्ञापन

पाँच वटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो ।

बिज्ञापन

मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।

बिज्ञापन

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई रु ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए । उनले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे । मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उनको घर पुगेका हुन् ।

मकरबहादुरले निबु खोलाको बेँसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उनी औधी खुशी भए । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उनले यसअघि नै बिक्री गरिसकेको बताए । त्यसैले उनले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो ।

बिज्ञापन

फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ । मकरबहादुरले फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताए । गत मंसिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाएका थिए ।

‘वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ’, मकरबहादुरले भने । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ । ‘विसं २०५६ मा म सगोलको परिवारबाट छुट्टिँदा निकै दुःख पाएँ, दुई पाथी धान लुकाएँ । त्यतिबेला मेरो पाँच जनाको परिवार थियो’, उनले भने, ‘मेरो नाममा दुई रोपनी जग्गा छ । यसको उब्जनीले नपुगेपछि पाँचजनाको जग्गामा खेती गर्दै आएका छौँ । ३० मुरीभन्दा कम धान फल्ने कुनै खेत छैन ।’ मकरबहादुरले ती खेत बन्धकी, कुत र अधियाँमा लिएका हुन् । उनले मकैका लागि पाखो बारी अधियाँमा लिएका छन् ।

किसानलाई प्रोत्साहन गर्न पुरस्कृत गर्ने गाउँपालिकाको सूचना पाएपछि मकरबहादुरले धानका खलाखलामै कर्मचारीलाई बोलाएका थिए । तर सबै धान भेला पारेर जोख्न मन लागेपछि घर छेउको खेतको खलामा सबै धान जम्मा गरे । ‘धान जम्मा गर्न रु सात हजार खर्च भयो । धान झारे पनि पराल दाइँ गर्न भ्याएकै छैन्’, उनले भने । बम्जन दम्पतीका तीन छोरा झापाको दमकमा बसोबास गर्छन् भने तीन छोरी विवाह गरेर गइसकेका छन् । तर धान फलाउन बम्जन दम्पतीले छरछिमेकीको साथ पाइरहेका छन् ।

‘दुःख नभई सुख हुँदैन रहेछ । साथीभाइले मैले भनेको टार्दैनन्, नाइँ भन्दैनन्’, मकरबहादुरले भने । विसं २०६० देखि धान खेतीमा लागिपरेको उनी बताउँछन् । पाखा खेतमा पानीको समस्या भए पनि निबु खोलाको बेँसीमा समस्या नरहेको उनले बताए । मकरबहादुर गाउँपालिकाले रु ५० हजार पुरस्कार दिएपछि ठूलो भैँसी किन्ने सोचमा छन् । ‘गाउँपालिकाले दिएको रकमले एउटा माउ भैँसी किन्ने योजना छ’, उनले भने । बम्जन दम्पतीले लामो समयदेखि बर्षेनि एक सय मुरीभन्दा बढी धान फलाउँदै आएको स्थानीयवासीको भनाइ छ । रासस

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते