जेनजी आन्दोलनको क्रममा देशभर भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले तीव्र गतिमा पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाबाट हालसम्म १३२ जना पक्राउ परेका छन्।
बिज्ञापन
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उपत्यकामा सबैभन्दा धेरै काठमाडौंबाट ९८ जना पक्राउ परेका छन्। अनुसन्धान पूरा भई अदालतमा पेश भएकामध्ये ६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। तीमध्ये ४ जना प्रहरी हत्या अभियोगमा र २ जना आपराधिक उपद्रवमा दोषी ठहरिएका छन्। हाल पनि परिसरको हिरासतमा २२ जना रहेका छन् भने केहीलाई हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ।
बिज्ञापन
आन्दोलनकै क्रममा कारागारबाट फरार भएका १३६ कैदीलाई पनि पुनः पक्राउ गरी कारागारमा बुझाइएको छ। ललितपुर प्रहरीले २४ जनालाई पक्राउ गरेको छ, जसमा हतियारसहित खोटाङका २३ वर्षीय शिवकुमार विक र लुटपाटमा संलग्न एक भारतीय नागरिकलाई कारागार चलान गरिएको हो। विकबाट चाइनिज पेस्तोल, म्यागजिन र राष्ट्रिय वाणिज्य बैंकको ट्यागसहित ४ लाख ७८ हजार रुपैयाँ बरामद गरिएको छ।
भक्तपुरमा पक्राउ परेका १० जनालाई हाजिरी जमानीमा छोडिएको छ र हालसम्म अदालतमा मुद्दा दर्ता गरिएको छैन। आन्दोलनका क्रममा असई मिलन राय, जवान उत्तम थापा र हवल्दार अमृत गुरुङको ज्यान गएको थियो। हत्या आरोपमा सिन्धुपाल्चोकका होमप्रसाद पौडेल, उदयपुरका टिकाराम विक, काभ्रेका युवराज क्याप्छाकी र मकवानपुरका सोनाम तामाङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
बिज्ञापन
प्रहरीका अनुसार पक्राउ परेकामध्ये धेरैजसोको आपराधिक पृष्ठभूमि रहेको खुलेको छ। सिंहदरबारमा एसएलआर ताक्ने राजु परियारमाथि ज्यान मार्ने उद्योगसहित आठवटा मुद्दा दर्ता छन्। त्यस्तै, हितेन्द्रदेव शाक्यको घरमा डाँका गर्ने भारतीय सरोज आलम, कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको घर लुट्ने सुजन सेवा र सञ्जय परियार पनि कारागार चलान भएका छन्।
बैंक लुटेर बुलेट किन्ने दोलखाका दीपक श्रेष्ठले २ लाख ५० हजार रुपैयाँ लुटेको स्वीकार गरेका छन्। प्रहरी कार्यालयमा आगजनी गर्ने दुई भारतीय नागरिक र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगो लगाउने सोनाम थेबे पनि पक्राउ परेका छन्।
त्यस्तै, शंकास्पद टीओबी समूहका तेन्जिन दावा तामाङको नागरिकता र जन्म दर्ता नक्कली रहेको आशंकामा अनुसन्धान भइरहेको छ। प्रहरीलाई बर्दी खोल्न लगाएर लखेट्ने गौतम घिसिङ चेक बाउन्सका फरार अभियुक्त भएको खुलेको छ।
आन्दोलनपछि धम्की दिने शाही वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्त रहेको प्रहरीले जनाएको छ। सुरक्षा निकायको निष्कर्षअनुसार आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले आन्दोलनमा घुसपैठ गरी हिंसात्मक गतिविधि बढाएका थिए।








