पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकी छन्। शुक्रबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन्।
बिज्ञापन
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ बमोजिम अन्तरिम सरकारको प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलकै समक्ष कार्कीले पद तथा गोपनीयताको शपथ लिएकी हुन्। शपथपछि राष्ट्रपति पौडेलले नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिँदै भने, “देश सफल होस्, जनताले सफलता प्राप्त गरुन्।”
बिज्ञापन
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको संविधानको धारा ६१ को उपधारा (४) बमोजिम अन्तरिम सरकारको प्रमुख बनेकी हुन् । संघीय संसद्ले यसअघि संविधानको धारा ७६ बमोजिम मन्त्रिपरिषद् गठन गर्ने गर्थ्यो । तर, यही साता सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनले मुलुकको नियमित राजनीतिक कोर्ष नै फेरिदिएपछि धारा ६१ बाट अन्तरिम सरकार गठन हुन लागेको हो ।
बिज्ञापन
संविधानको भाग-६ मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । सोही भागको धारा ६१ को उपधारा (४) मा ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ उल्लेख छ । पछिल्लो प्रदर्शन क्रममा उठेको संसद् विघटनको माग सम्बोधन गर्नेगरी राष्ट्रपति कार्यालयमा आजै सहमति भएको थियो ।








