कुनै पनि लगानी जोखिमरहित हुँदैन भन्ने थेगाे दोहोर्याउँदा पाठकलाई झर्को लाग्न सक्छ। तर, यो यथार्थबारेमा पटक-पटक छलफल गरिनुपर्छ र विभिन्न कोषबाट छलफल गरिनुपर्छ। किनकि, हाम्रो साझा स्मृतिबाट यो यथार्थ ओझेल पर्छ र हामी गलत निर्णयको शिकार हुन्छौँ।
बिज्ञापन
सेयर बजारको लगानीलाई तुलनात्मक रुपमा बढी जोखिम भएको क्षेत्र मानिन्छ। जोखिम छ भनेर यो बजारमा प्रवेशै नगर्ने भन्ने हुँदैन। त्यसो गर्दा बजारबाट प्राप्त हुन सक्ने लाभबाट वञ्चित हुनुपर्छ। त्यसैले एउटा सचेत लगानीकर्ताले सेयर बजारको जोखिमलाई पन्छ्याउँदै कसरी अधिकतम लाभ प्राप्त गर्न सक्छ भन्ने चर्चा यो लेखमा गरिएको छ।
बिज्ञापन
जोखिम छ भनेर यो बजारमा प्रवेशै नगर्ने भन्ने हुँदैन। त्यसो गर्दा बजारबाट प्राप्त हुन सक्ने लाभबाट वञ्चित हुनुपर्छ। त्यसैले एउटा सचेत लगानीकर्ताले सेयर बजारको जोखिमलाई पन्छ्याउँदै कसरी अधिकतम लाभ प्राप्त गर्न सक्छ भन्ने चर्चा यो लेखमा गरिएको छ।
सेयर बजारको गतिशील संसारमा सचेत लगानीकर्ता त्यो हो जसले ज्ञान, अनुशासन, सावधानी र रणनीतिक सोचलाई संयोजन गरेर सूचित निर्णय लिन्छ। लगानी केवल भाग्यको खेल मात्र होइन। बजारमा लुकेका अवसरहरू पक्रिँदै, घातक जोखिम पन्छ्याउँदै लगानीको उतापचढावमा उत्रिन अनुशासित दृष्टिकोण चाहिन्छ। यहाँ यस किसिमको अनुशासन रणनीति तथा दृष्टिकोण भएको विवेकी लगानीकर्ता कस्तो हुन्छ भन्ने पहिचान गर्न खोजिएको छ।
बिज्ञापन
नियमभित्र बसेर खेल्छ
सचेत लगानीकर्ता जहिले पनि खेलको नियमभित्र बसेर खेल्छ। लगानीबाट उच्च प्रतिफल प्राप्त गर्ने छोटो र वैधानिक बाटो हुँदैन भन्ने उसलाई थाहा हुन्छ। त्यसैले सचेत लगानीकर्ताले वैधानिक बाटो समाउँछ। जोखिम छ भनेर यो बजारमा प्रवेशै नगर्ने भन्ने हुँदैन। त्यसो गर्दा बजारबाट प्राप्त हुन सक्ने लाभबाट वञ्चित हुनुपर्छ। त्यसैले एउटा सचेत लगानीकर्ताले सेयर बजारको जोखिमलाई पन्छ्याउँदै कसरी अधिकतम लाभ प्राप्त गर्न सक्छ भन्ने चर्चा यो लेखमा गरिएको छ।
सचेत लगानीकर्ता कानुनले चिनेको पक्षसँग मात्र कारोबार गर्छ। सेयर बजारमा कारोबार गर्ने बैंक खाता, निक्षेप खाता, सेयर दलालसँग कारोबार खाता खोल्नुपर्छ। यस्तो सेवा प्रदान गर्ने सबै पक्ष सम्बन्धित नियामक निकायबाट इजाजतपत्र प्राप्त हुन र कारोबारयोग्य पक्ष हुन भन्ने सचेत लगानीकर्ताले सुनिश्चित गर्छ। लगानी प्रबन्धक, लगानी परामर्शदाता पनि बजारमा भेटिन्छन्। सचेत लगानीकर्ताले तिनीहरू पनि इजाजत प्राप्त हुन कि होइनन् भन्ने छुट्याउँछ।
हल्लाका पछाडि दौडिँदैन
धेरै लगानीकर्ता हल्लाका पछाडि दौडिन्छन्। हल्लाको पछाडि दौडिनु सचेत लगानीकर्ताको लक्षण होइन। सचेत लगानीकर्ताले स्वतन्त्र अनुसन्धान गर्छ। बजारमा चलेका हल्ला सही हुन् कि होइनन् छुट्याउने प्रयास गर्छ। यसका लागि ठुलै प्राज्ञिक अनुसन्धान गर्नुपर्छ भन्ने होइन। बजारमा चलेका हल्ला तथ्यपरक छन् कि छैनन् तर्कसंगत छन् कि छैनन् भनेर हेर्छ। सूचनाको स्रोत आधिकारिक हो कि होइन पत्ता लगाउने प्रयास गर्छ।
कम्पनीहरुले प्रकाशित गरेका विवरण अस्वभाविक लागे त्यसको कारण पहिल्याउने प्रयास गर्छ। सचेत लगानीकर्ताले लगानी गर्नुअधि कम्पनीको कार्यसम्पादक, बजार प्रविधि र आर्थिक सूचकहरूको विश्लेषण गर्छ। यसरी स्वतन्त्र अनुसन्धान नगरी सचेत लगानीकर्ताले अरुका सिफारिसलाई अन्धाधुन्ध पछ्याउँदैन।
कार्यसम्पादकको सन्दर्भमा जानुपर्ने भनेको कम्पनीको मुख्य व्यवसाय के हो? त्यो व्यवसायबाट कसरी आम्दानी हुन्छ? कम्पनीले कति आम्दानी गरिरहेको छ? कति नाफा गरिरहेको छ? लाभांश बाँड्न सक्छ कि सक्दैन? लाभांश बाँड्न सक्ने भए कति बाँड्न सक्छ? जस्ता आधारभूत विषय जानकारी लिएको हुन्छ।
बजार प्रवृत्ति ओरालो लाग्दो छ कि उकालो भन्ने सामान्य जानकारी लगानीकर्तालाई हुनुपर्छ। बजार ओरालो लागेको बेलामा राम्रा कम्पनीहरूको पनि सेयर मूल्य झरिरहेको हुन्छ भने उकालो लागेको बेलामा नराम्रा कम्पनीहरूको पनि सेयर मूल्य चढिरहेको हुन्छ। बजार मूल्य बढिरहेका सबै कम्पनी राम्रो र घटिरहेका सबै कम्पनी नराम्रो भन्ने हुँदैन।
बजार ओरालो लागेको बेलामा राम्रा कम्पनीहरूको पनि सेयर मूल्य झरिरहेको हुन्छ भने उकालो लागेको बेलामा नराम्रा कम्पनीहरूको पनि सेयर मूल्य चढिरहेको हुन्छ।
सचेत लगानीकर्ताले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण पक्ष मुलुकको समग्र आर्थिक सूचक हो। मुलुकको आर्थिक सूचक कमजोर छन् तर बजार बढिरहेको छ भने यस्तो बेलाको लगानी जोखिमयुक्त हुन सक्छ। अर्थतन्त्र राम्रो हुँदाहुँदै पनि कुनै कारणले बजार घटिरहेको छ भने त्यो लगानी गर्ने अवसर हुन सक्छ।
छिट्टै धन कमाउने कुरालाई पत्याउँदैन
सचेत लगानीकर्ता छिट्टै धन कमाउने थोरै वा कुनै जोखिम बिना उच्च प्रतिफलको ग्यारेन्टी गर्ने उडन्ते योजनाबाट सावधान हुन्छ लगानी गर्ने निर्णय लिनेसम्बन्धी कामलाई बिस्तारै विस्तृत अध्ययन गरेर, छिटो र धेरै प्रतिफल दिने सपना देखाउने योजनामाथि प्रश्न गर्ने सचेत लगानीकर्ता हुन्छ। यस किसिमका प्रश्नले कर्जी योजनाको सिकार हुनबाट लगानीकर्तालाई जोगाउँछ।
कुनै पनि लगानी जोखिमरहित हुँदैन भन्ने बुझेको बुद्धिमान लगानीकर्ताले यति उति प्रतिफल दिन्छु भनेर ग्यारेन्टी गरिएको वा वाचा गरिएको लगानी योजना सम्भव हो कि होइन भन्ने प्रश्न गर्छ। उसले त्यस्तै प्रकृतिका अन्य योजनाले कति प्रतिफल दिइरहेका छन् वा त्यस्तो योजना ल्याउने योजना व्यवस्थापकले विगतमा कति प्रतिशत दिएको थियो भन्ने बुझ्ने प्रयास गर्छ। त्यति मात्र होइन, लगानीका अन्य क्षेत्रबाट प्राप्त हुन सक्ने सम्भाव्य प्रतिफलसँग तुलना पनि गर्छ। सचेत लगानीकर्ताले बजार अस्थिरता र समग्र आर्थिक अवस्थालगायतका विभिन्न कारकमा लगानी प्रतिफल निर्भर हुन्छ भन्ने बुझेको हुन्छ। त्यसैले लगानीमा गरिएका प्रतिफल ग्यारेन्टीलाई छड्के जाँच नगरी पत्याइहाल्दैन।
धनी बन्ने दबाबबाट मुक्त हुन्छ
सचेत लगानीकर्ता तुरुन्तै लगानी गर्नुपर्छ, नत्र छुटिन्छ भन्ने किसिमको मानसिक दबाबबाट मुक्त हुन्छ। उसले हतारमा निर्णय लिन दबाब दिने जोकोहीलाई अविश्वास गर्छ। त्यस्ता किसिमका दबाब दिनेहरूको लगानी योजना टिकाउ नहुन सक्छ, नक्कली हुन सक्छ वा नियमकीय दायराभन्दा बाहिरका गैरकानुनी हुन सक्छ। त्यसैले त्यस किसिमका आक्रामक बजारीकरण योजनालाई बेवास्ता गर्छ।
कुनै व्यक्ति वा समूहले त्यस किसिमको आकर्षक प्रस्ताव नगरेको अवस्थामा पनि एउटा औसत मान्छे आफ्ना साथीभाई, आफन्त, सहकर्मी वा छरछिमेककी धनी भइरहेको देखेर उनीहरु वास्तवमा कसरी धनी भइरहेका छन् भन्ने विस्तृतमा बुझ्दै नबुझी सेयर बजार, कुनै लगानी योजना वा कुनै परियोजनामा लगानी गर्ने मानसिक दबाबमा पर्न सक्छ। तर, बुद्धिमान लगानीकर्ता तुरुन्तै लगानी गर्ने र तुरुन्तै धनी हुने खेलमा कहिल्यै लाग्दैन। उपलब्ध अवसरको परीक्षण गर्ने धैर्य उसँग हुन्छ र त्यस्ता अवसरको पूर्ण मूल्याङ्कन गर्ने प्रयास उसले गर्छ।
अवैध औजारबाट टाढा हुन्छ
इन्टरनेटको बढ्दो प्रयोग भइरहेको वर्तमान समयमा विभिन्न वेबपोर्टल र सामाजिक सञ्जालमार्फत लगानीको आकर्षक अवसर भन्ने किसिमका प्रचार सामग्री हाम्रासामु आउन सक्छन्। यस्ता सामग्री प्राय: विदेशबाट आउने गर्छन। नेपालको कानुनले त्यस्ता लगानीलाई चिन्दैन। ती प्रस्ताव गैरकानुनी हुन्। त्यसैले सचेत लगानीकर्ताहरू क्रिप्टोकरेन्सी वा त्यस्तै किसिमका अन्य डिजिटल औजारबाट लगानी गर्दैनन्
समझदार लगानीकर्ता त्यस किसिमका योजनाबाट टाढै बस्छन्। वैधानिक भएकै अवस्थामा पनि तिनीहरू अन्तर्राष्ट्रिय ठगहरूको गिरोहले चलाइरहेको हो कि भन्ने शंका गर्छन्।
यसबाहेक नेपालको कानुनले देशबाहिर पैसा पठाउन पनि निषेध गरेको छ। त्यसकारण समझदार लगानीकर्ता त्यस किसिमका योजनाबाट टाढै बस्छन्। वैधानिक भएकै अवस्थामा पनि तिनीहरू अन्तर्राष्ट्रिय ठगहरूको गिरोहले चलाइरहेको हो कि भन्ने शंका गर्छन्। अन्तर्राष्ट्रिय लेनदेनको जोखिम सचेत लगानीकर्ताले बुझेको हुन्छ।
व्यक्तिगत विवरणको सुरक्षा
पुँजी बजारको कारोबारलाई प्रविधिले सजिलो बनाएको छ। यससँगै सुरक्षा चुनौती पनि थपिएको छ। प्रविधिका कारण ठुल्ठुलो परिणाममा जसरी सजिलै धितोपत्रलगायतका सम्पत्ति खरिद गर्न र नाफा कमाउन सजिलो भएको छ। त्यसैगरी सम्पत्ति गुमाउन र नोक्सानी बेहाेर्नुपर्ने अवस्था पनि आएको छ। ल्यापटप वा स्मार्ट फोनबाट एक क्लिकको भरमा सम्पत्ति प्राप्त गर्न सकिएजस्तै घुमाउन पनि सकिन्छ त्यसैले कारोबारका लागि प्रयोग गरिने ल्यापटप वा स्मार्ट फोनमा आफ्ना विवरण सुरक्षित राख्नुपर्छ। बुद्धिमान लगानीकर्ताले आफ्नो व्यक्तिगत र वित्तीय विवरणको सुरक्षा कसरी गर्ने भन्ने थाहा पाएको हुन्छ। उसले सामाजिक सञ्जालमार्फत नचिनेको व्यक्ति वा कुनै पक्षबाट लगानी गर्न आग्रह गरेको अवस्थामा त्यसलाई अस्वीकार गर्नुपर्छ। त्यसरी आउने फोन कल, इमेल वा अन्य माध्यमबाट आउने सूचना, सन्देश, आग्रह वा विज्ञापनबाट सावधान हुनुपर्छ।
असली र वैधानिक लगानीका अवसरबारे सामाजिक सञ्जालबाट बिरलै जानकारी आउँछन। एक /दुईलाई छाडेर त्यस किसिमका सबै जानकारी ठगी गर्ने नियतले आएका हुन्छन् तसर्थ, सचेत लगानीकर्ता सामाजिक सञ्जालमार्फत आउने अनावश्यक लगानी अवसरलाई शङ्काको दृष्टिले हेर्छन। त्यस्ता सूचनाको स्रोत, अधिकारिकता र वैधानिकता पहिल्याउने प्रयास गर्छन।
सचेत लगानीकर्ताहरूले लगानी योजनामा हुन सक्ने ठगीको प्रारम्भिक संकेत थाहा पाउँछन्। उनीहरुले कुनै पनि लगानी अवसरको परिपाटी बुझ्ने प्रयास गर्छन। त्यस्ता योजनामा पुँजी सङ्कलन, परिचालन र प्रतिफल विवरण कसरी हुन्छ भन्ने पहिल्याउँछन्। त्यस्ता योजना आफ्ना लागि उचित हो भन्ने यकिन गरेर मात्र त्यसमा सहभागी हुन्छन्।
मुद्रास्फीति र वास्तविक प्रतिफलको सम्बन्ध
लगानीबाट प्राप्त हुने प्रतिफल र मुद्रास्फीतिबीचको सम्बन्धलाई धेरैजसो लगानीकर्ताले हेक्का गरेका हुँदैनन्। बुद्धिमान लगानीकर्ताले कार्यशक्तिमा मुद्रास्फीतिले पार्ने प्रभावको मूल्याङ्कन गर्दछ। यसलाई अर्थशास्त्रको औपचारिक भाषामा वास्तविक प्रतिफल दर भन्छन् उदाहरणका लागि कुनै लगानीबाट सात प्रतिशत प्रतिफल आउँछ भनिएको छ र मुद्रा स्मृति दर ५५ प्रतिशत छ भने वास्तविक प्रतिफल दर दुई प्रतिशत मात्रै हुन्छ।
कतिपय लगानी योजनामा यस्तो दर ऋणात्मक पनि हुन्छ। हाल नेपालमा बैंक निक्षेपमा बचत गर्ने बचतकर्ताले प्राप्त गर्ने वास्तविक ब्याजदर ऋणात्मक छ। त्यसैले सचेत लगानीकर्ताले मुद्रास्फीति समायोजनपछिको वास्तविक लगानी प्रतिफलमा जोड दिन्छ।
सम्पत्तिको चरित्र
सचेत लगानीकर्ताले विभिन्न किसिमका सम्पत्तिको चरित्रलाई बुझेको हुन्छ। सुन, घरजग्गा, धितोपत्र फरक किसिमका सम्पत्ति हुन्। धितोपत्रमा पनि ऋणपत्र, सेयर वा म्युचुअल फण्डका इकाइमा प्राप्त हुने प्रतिफल र जोखिमको मिश्रण फरक हुन्छ। गतिशील अर्थतन्त्र र मुद्रास्फीतिको वातावरणमा यी सम्पत्तिबाट प्राप्त हुने प्रतिफल पनि स्थिर हुँदैन। यस्ता विभिन्न वर्गका सम्पत्तिले फरक परिवेशमा कस्तो व्यवहार गर्छन्? यिनीको चरित्र कस्तो हुन्छ भन्ने सामान्य जानकारी सचेत लगानीकर्तासँग हुन्छ।
सुन, घरजग्गा, धितोपत्र फरक किसिमका सम्पत्ति हुन्। धितोपत्रमा पनि ऋणपत्र, सेयर वा म्युचुअल फण्डका इकाइमा प्राप्त हुने प्रतिफल र जोखिमको मिश्रण फरक हुन्छ।
सचेत लगानीकर्ताले सबै किसिमका सम्पत्तिको संग्रह गरी एक विविधतायुक्त पाेर्टफोलियो निर्माण गरेको हुन्छ। पाेर्टफोलियो विविधिकरणले प्रतिकूल आर्थिक वा बजार परिवेशमा पनि लगानीकर्तालाई उचित प्रतिफल दिइरहेको हुन्छ। सचेत लगानीकर्ताले अर्थतन्त्रको गतिशीलतालाई बुझेको हुन्छ र परिस्थितिअनुरुप आफ्नो पाेर्टफोलियो समायोजन गर्छ। विविधिकरण लगानिकाे बलियो जग हो। विभिन्न सम्पत्ति वर्ग र क्षेत्रमा लगानी वितरण गर्दा कुनै एक क्षेत्रमा अप्रत्याशिल घटनाबाट हुन सक्ने क्षतिलाई अन्य क्षेत्रबाट प्राप्त हुने प्रतिफलबाट पूर्ति गर्न सकिन्छ।
आपतकालका लागि जोहो
दुर्घटना, बिमारी, बालबच्चाको शिक्षादिक्षा, बिहेबारीलगायतका व्यक्तिगत वा पारिवारिक घटनाबाट लगानीकर्ता मुक्त हुँदैन। यस्ता घटनामा ठूलो रकम खाँचो पर्न सक्छ। एक सचेत लगानीकर्ताले यस किसिमका घटनाका लागि रकमको जाेहाे गरेको हुन्छ। त्यसो नगर्दा आफ्नो लगानीलाई असमयमा फिर्ता गर्नुपर्ने बाध्यता आइलाग्न सक्छ र यसबाट ठूलो नोक्सानी हुन सक्छ। त्यसैले प्रतिकुल व्यक्तिगत घटनाका लागि आपतकालीन कोषको व्यवस्था गर्नुपर्छ। यस किसिमको तयारीले अनिश्चित समयमा वित्तीय स्थिरता सुनिश्चित गर्दछ।
बलियो वित्तीय भविष्य निर्माणका लागि विधिसम्मत लगानी, वास्तविक प्रतिफल, भावनात्मक नियन्त्रण, लगानीमा विविधीकरण, अध्यावधिक प्राविधिक ज्ञान, दीर्घकालीन लक्ष्य, आपतकालीन उपायलगायत माथि चर्चा गरिएका विषयलाई महत्व दिने सचेत लगानीकर्ता हुन्छ।
सचेत लगानीकर्ताले प्रभावकारी व्यक्तिगत बजेट रणनीतिमार्फत अप्रत्याशित घटनाका लागि उचित योजना बनाउँछ। उसले जोखिम व्यवस्थापन गर्ने मुद्रास्फीतिको नकारात्मक प्रभाव कम गर्ने, चर्को ब्याज भएको ऋणबाट बच्ने र स्थिर वित्तीय आधार सिर्जना गर्ने लगानीलाई प्राथमिकतामा राखेर काम गर्छ।
दीर्घकालीन दृष्टिकोण
नाम चलेका लगानीकर्ताको कथन, विभिन्न अनुसन्धानत्मक कृति र वित्त साहित्यमा दीर्घकालीन लगानीलाई जोड दिएको पाइन्छ। त्यसैअनुरुप सचेत लगानीकर्ताले दीर्घकालीन रणनीतिको फाइदा पहिचान गर्दै आफ्नो भविष्यका लक्ष्यसँग मेल खाने नियमित किसिमको र विविधतायुक्त लगानीमा जोड दिएको हुन्छ। दीर्घकालीन लगानीबाट प्राप्त हुने चक्रवृत्ति प्रतिफलको मेकानिक्सलाई बुझेर यसबाट लाभ उठाउँछ।
कर तथा शुल्कबारे सचेत
सामान्यतया आर्थिक कारोबार कर तथा शुल्करहित हुँदैनन्। कुन किसिमको कारोबारमा कति कर वा शुल्क लाग्छ भन्ने जानकारी लगानीकर्तालाई हुनुपर्छ। कर तथा शुल्कले प्रतिफलमा उल्लेखनीय प्रभाव पार्छ। सेयर बजारमा अल्पकालीन लगानीबाट प्राप्त हुने प्रतिफलमा बढी कर लाग्छ भने दीर्घकालको लगानीमा कम यसैगरी बारम्बार कारोबार गर्दा ब्रोकरलाई तिर्नुपर्ने कमिसन तथा निकायलाई तिर्नुपर्ने शुल्क पनि बढी पढ्न जान्छ। सचेत लगानीकर्ताले लगानीका विभिन्न विकल्प छनोट गर्दा कर तथा शुल्कले प्रतिफलमा पार्ने प्रभावको विश्लेषण गर्छ र अनावश्यक खर्च घटाउँछ।
निष्कर्ष
एक सचेत लगानीकर्ताको लगानी दृष्टिकोण सतर्कता, शिक्षा र रणनीतिक दूरदर्शितामा आधारित हुन्छ। यी विशेषता र अभ्यासलाई संयोजन गरेर उसले सेयर बजारको जटिलतालाई चिर्छ। बलियो वित्तीय भविष्य निर्माणका लागि विधिसम्मत लगानी, वास्तविक प्रतिफल, भावनात्मक नियन्त्रण, लगानीमा विविधीकरण, अध्यावधिक प्राविधिक ज्ञान, दीर्घकालीन लक्ष्य, आपतकालीन उपायलगायत माथि चर्चा गरिएका विषयलाई महत्व दिने सचेत लगानीकर्ता हुन्छ।
(नागरिक लागनी कोषको ३५औं बार्षिककोत्सवको उपलक्ष्यमा प्रकाशित कोष स्मारिका २०८१ बाट साभार।)








