नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसद् छलेर सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुने बताएका छन्। बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले यस्तो बताएका हुन्।
बिज्ञापन
‘भूमि हीनहरूलाई जग्गा दिनु, अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नु ठिक हो’, पूर्व अर्थमन्त्री समेत रहेका पुनले भने,‘ तर संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको छ।’
बिज्ञापन
उनले गिरीबन्धु टी–स्टेजस्ता हदबन्दी माथिका केसलाई आफू अनुकूल लैजाने सरकारले चलखेल गरेको बताए। ‘अहिले गणितीय हिसाबले बहुमतजस्तो देखिए पनि सरकार कम्र्फोटेबलको स्थितिमा पनि छैन’, उनले भने, ‘राष्ट्रिय सभामा बहुमत पुग्ने स्थिति छैन। जुन कारण अध्यादेश राष्ट्रिय सभामा फेल हुने देखिन्छ।’
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अध्यादेशमार्फत शासन गर्न तल्लीन रहेको भन्दै संसद्सँग डराएर सरकारले संसद्को मानहानि गरेको समेत आरोप पुनको छ।
बिज्ञापन
‘विधेयक अधिवेशन सुरु भएको छ। जुन कानुन निर्माणको लागि गरिन्छ। अधिवेशन सुरु गर्नु भन्दा ४ दिन अगाडि सरकारले अध्यादेश जारी गरेको छ। जसले राष्ट्रिय राजनीतिमा तरङ्ग छ’ पुनले भने, ‘सरकार किन अध्यादेशमार्फत शासन गर्न उद्धत छ? भन्ने कुरा विशेष बहसको कुरा छ।’
नेता पुनले प्रधानमन्त्री ओलीले विगतको संसद् विघटन प्रवृत्ति प्रवृत्ति दोहोर्याउन सक्ने आशङ्का गर्न सकिने समेत बताए। ‘विगतमा नेकपा कालमा पनि उहाँले संसद् विघटन गर्नुभएको थियो। संसद् छल्ने, विघटन गर्ने, अध्यादेशमार्फत शासन गर्ने जस्ता कार्य फेरि दोहोरिन्छ कि भन्ने आम आंशका छ’, पुनको भनाइ छ।








