कैलालीमा परिरहेको भीषण वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। भजनी, जोशीपुर, जानकी, घोडाघोडी कैलारी, गौरीगङ्गामाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सयभन्दा बढी घर डुबानमा परेका छन् भने १ हजार ७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।
बिज्ञापन
भजनीमा ४ सयभन्दा बढी घर डुबानमा परेको उनले जानकारी दिए। हसुलिया गौरीगंगा सुखडमा डुबान भएको छ। कैलारीका केही परिवार वडा कार्यालयमा बसेका छन्। कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीया लोकमाया चौधरीलाई बाढीले बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
बिज्ञापन
अहिले पनि कैलालीमा वर्षा भइरहेको छ भने साना ठुला नदीमा पानीको वहाब बढिरहेको छ। स्थानीय प्रशासनले सूचना जारी गरेर बाढीको जोखिम क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी छ। जल तथा मौसम विज्ञान विभागले पनि होचो भू-भाग र तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ।








