बिज्ञापन
देशभर चर्किंदै गएको जेन–जी आन्दोलनको दोस्रो दिन ललितपुरको भैसेपाटीस्थित संघीय मन्त्री र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बिज्ञापन
आन्दोलनकारीले सो क्षेत्र घेराउ गरेपछि सुरक्षाको जोखिम देखिँदा सेनाले तत्काल उद्धार गरेको हो। मन्त्रीहरूको उद्धारपछि आक्रोशित आन्दोलनकारीहरूले भर्खर निर्माण सम्पन्न भएको नयाँ मन्त्री निवासमा आगजनी गरेका छन्। आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ भने सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप अझै जारी छ।
शीर्ष नेताहरूको घरमा आक्रमण
बिज्ञापन
जेन–जी आन्दोलन उग्र बन्दै गएसँगै आज विभिन्न शीर्ष नेताहरूको निवासमा तोडफोड र आगजनी भएको छ। हालसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घर, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा आक्रमण भएको पुष्टि भएको छ।
त्यसैगरी, कैयौं मन्त्री र सांसदका घरहरूमा पनि तोडफोड, आगजनी र लुटपाटको घटना घटेका छन्। सुरक्षाको दृष्टिले नेताहरूलाई विभिन्न सुरक्षित स्थानतर्फ सारिएको छ।
काठमाडौं उपत्यकामा स्थिति नियन्त्रण गर्न नेपाली सेनाको भूमिकासमेत सक्रिय हुँदै गएको छ। मन्त्रीहरूको उद्धार कार्य पनि सेनाले नै सम्हालेको पुष्टि गरिएको छ। राजधानीका विभिन्न संवेदनशील क्षेत्रहरूमा सेनाको गस्ती र हवाई निगरानी तीव्र पारिएको छ।
जेन–जी पुस्ताको आन्दोलन शान्तिपूर्णबाट हिंसात्मक रूप लिँदै गएकाले अहिले उपत्यकामा कर्फ्यु जारी छ भने देशभर आकस्मिक सुरक्षा व्यवस्था कडाइ गरिएको छ। प्रशासनले जनतालाई संयमित रहन र अनावश्यक हल्लामा नपर्न आग्रह गरेको छ।








