नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाई नियम उल्लंघन गरेकोमा कारबाही गरेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासमा नियम मिच्ने सिटिजन्स बैंक र एनआईसी एसिया बैंक तथा पोखरा फाइनान्स र गृहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई कारबाही गरेको हो।
बिज्ञापन
सिटिजन्स बैंकले राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं. ६ को बुँदा नं. ४(१३) मा भएको व्यवस्था विपरीत तथा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागबाट प्रेषित निर्देशनविपरीत बैंकका प्रमुख कार्यकारी अधिकृतको करार सम्झौतामा संशोधन गरी प्रमुख कार्यकारी अधिकृतको सुविधा वृद्धि गरेको, सिटिजन फास्ट ट्रयाक लोन अन्तर्गत कर्जाको उपयोगको सम्बन्धमा आन्तरिक लेखापरीक्षकबाट विस्तृत अध्ययन गर्न राष्ट्र बैंकबाट दिइएको निर्देशनको पालना नगरेको पाइएको छ। निर्देशन पालना गरेकै कारण सिटिजन्स बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२) (क) अनुसार सचेत गराइएको छ।
बिज्ञापन
त्यस्तै सिटिजन्स बैंकले ब्याजदर अन्तरको गणना गलत तरिकाबाट गरेको, नयाँ कर्जा प्रवाह गरी पुरानो कर्जा तथा ब्याज चुक्ता गरेकोे, दाबी परेका बैंक जमानतको भुक्तानी राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन नं. २ को बुँदा नं. १९ मा तोकिएको समयवाधिभित्र नगरेको, लामो समयसम्म निरन्तर अस्थायी रुपमा म्याद बढाइएका कर्जामा एजिङ वाइज कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, राष्ट्र बैंकबाट जारी चालुपुँजी सम्बन्धी मार्गदर्शन, २०७९ मा भएका व्यवस्थाहरुको पूर्ण रुपमा पालना नभएको, तोकिएका क्षेत्रमा प्रवाह भएका कर्जाको गलत रिर्पोटिङ गरेकोले प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐनको दफा १००(२) (क) अनुसारसचेत गराइएको छ।
उता तत्कालीन समयमा राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७४ (इ.प्रा.निर्देशन नं. १५/०७४, बुँदा नं २, ५ (ङ) मा उल्लेख भएको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिररपरिवर्तनीय), किस्तासम्बन्धी व्यवस्था लगायतका इ.प्रा.निर्देशन नं. २०/०८१ को बुँदा नं. १ मा उल्लेख भएको व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाइएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले एनआईसी एसिया बैंकलाई राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको छ।
बिज्ञापन
राष्ट्र बैंकले पोखरा फाइनान्सलाई नगद जरिवाना गरेको छ। २०८१ माघ २७ देखि चैत २३ सम्मको अवधिका लागि न्यूनतम अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम ३२ लाख ७७ हजार ६७६.३५ जरिबाना लगाइएको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी राष्ट्र बैंकले ३ वटा नियम उल्लंघन गरेकोमा गुहेश्वरी मर्चेन्टलाई कारबाही गर्दै सचेत गराएको छ। संस्थाको नोक्सानी व्यवस्था तथा वर्गीकरण राष्ट्र बैंकमा गरिएको रिपोटिङमा कैफियत पाइएको र कतिपय कर्जाको वक्यौता ब्याज-किस्ता असुल गर्न थप कर्जा प्रवाह गरी कर्जा नियमित गरेको र यी सबै कारणले कर्जा नोक्सानी व्यवस्था प्रभावित भई संस्थाको वित्तीय विवरण यथार्थपरक नदेखिएकोले राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (१) को खण्ड (ख) मा भएको व्यवस्थाविपरीत संस्थाले वार्षिक साधारण सभा भन्दा अगाडि रिक्त भएको सञ्चालक पदको नियुक्ति वार्षिक साधारण सभा अगाडि पनि नगरेको, वार्षिक साधारण सभामा रिक्त सञ्चालक नियुक्तिका लागि निर्वाचनको प्रक्रियामा नगएको र वार्षिक साधारण सभा समापन भएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेकोले तत्कालको वार्षिक साधारणसभा छली सञ्चालक नियुक्त गर्ने मनसाय राखेको देखिएको हुँदा राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम छुट्टाछुट्टै पत्रमार्फत गुहेश्वरी मर्चेन्टलाई सचेत गराइएको छ।
गृहेश्वरी मर्चेन्लाई बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन र राष्ट्र बैंक ऐनविपरीत वार्षिक साधारणसभा भन्दा अगाडि रिक्त भएको सञ्चालक पदको नियुक्ति, सञ्चालक नियुक्तिका लागि निर्वाचनको प्रक्रियामा नगएको र वार्षिक साधारणसभा समापन भएपछि मात्र सञ्चालक समितिबाट सञ्चालक नियुक्त गरेको छुट्टाछुट्टै पत्रमार्फत सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।








