च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले सनसनीपूर्ण जीत निकालेको छ।
बिज्ञापन
पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा शनिबार राति अस्ट्रेलियाले इंग्ल्याण्डविरूद्ध ५ विकेटको जीत निकालेको हो। इंग्ल्याण्डले दिएको ३५२ रनको फराकिलो लक्ष्य ४७.३ ओभरमा पाँच विकेट मात्रै गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित दर्ज गर्यो। फराकिलो लक्ष्य पूरा गर्ने क्रममा जोश इंग्लिसले सर्वाधिक १२० रन बनाए। उनी ८६ बलमा ६ चौका र ६ छक्का प्रहार गरेर नट आउट रहे।
बिज्ञापन
ग्लेन म्याक्सवेल १५ बलमा ४ चौका र २ छक्का प्रहार गरी ३२ रन बनाएर नट आउट रहे। त्यसअघि एलेक्स क्यारीले ६३ बलमा ८ चौका प्रहार गरी ६९ रन बनाएका थिए। त्यस्तै ओपनर म्याथ्यु सटले ६६ बलमा ९ चौका र १ छक्का प्रहार गरी ६३ रनको योगदान गरे। मार्नस लाबुसेनले ४५ बलमा ५ चौका हानेर ४७ रन जोडे। त्रविस हेड ६ र कप्तान स्टेभेन स्मिथ ५ रनमा आउट भए।
बलिङतर्फ इंग्ल्याण्डका मार्क वुड, जोफ्रा आर्चर, ब्राइडन कार्स, आदिल रसिद र लियाम लिभिङस्टोनले एकरएक विकेट लिए। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ८ विकेट गुमाएर ३५१ रनको योगफल तयार गरेको थियो। इंग्ल्याण्डका लागि ओपनर बेन डुकेटले सर्वाधिक १६५ रन बनाए। उनले १४३ बल खेलेर ८ चौका र ३ छक्का हाने। जोय रूटले ७८ बलमा ४ चौका प्रहार गरी ६८ रन बनाए। कप्तान जोश बट्लरले २३, जोफ्रा आर्चरले २१, जेमी स्मिथले १५ र लियम लिभिङस्टोनले १४ रन जोडेका थिए। बलिङतर्फ अस्ट्रेलियाका बेन द्वारश्वीसले तीन विकेट, एडम जम्पा र मार्नस लाबुसेनले २र२ तथा ग्लेन म्याक्सवेलले १ विकेट लिए।








