गण्डकी प्रदेश राजधानी पोखरा नेपालकै सबैभन्दा बढी प्रदूषित सहरमा लगातार ३ दिनदेखि पर्दै आएको छ। वन तथा वातावरण मन्त्रालय, वातवारण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीले शुक्रबार बिहान पौने ६ बजेसम्म पोखराको वायु प्रदूषण २०३ एक्यूआई मापन गरेको हो।
बिज्ञापन
विभागको तथ्यांकअनुसार यो पोखराका लागि पछिल्लो ३ दिनयताकै सबैभन्दा खराब सूचकांक हो। वायु गुणस्तर निगरानीले पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुललाई आधार मानेर वायु गुणस्तर मापन गर्दै आएको छ। वातावरण विभागले पोखरासहित देशका विभिन्न ९ सहरमा वायु प्रदूषण खराब स्थितिमा छ। भक्तपुर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ। केही दिनअघिसम्म देशकै प्रदूषित सहरको अग्रस्थानमा रहेको काठमाडौं शंखपार्क आज १८९ एक्यूआईसहित तेस्रो स्थानमा ।
बिज्ञापन
भैंसेपाटी क्षेत्रको वायु प्रदूषण १७९, हेटौंडा १७४, रत्नपार्क १७१, खुमल्टार १६९, भरतपुर १६४, धनगढी क्षेत्रको १६२ एक्यूआई मापन गरिएको छ। ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ। वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ। ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ। ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ।
बिज्ञापन
विश्वकै तेस्रो प्रदूषित सहर काठमाडौं
विश्वभरको तथ्यांकमा भने नेपाल समग्र तेस्रो स्थानमा छ।
विश्वभरको मुख्य मुख्य क्षेत्रको वायु स्वच्छता जाँच्दै आएको आईक्यू एअरले यो समाचार तयार पार्दासम्म काठमाडौंको वायु प्रदूषण १७५ एक्यूआई मापन गरेको छ। पछिल्लो २४ घन्टामा नेपाल विश्वकै दोस्रो प्रदूषित सहर बनेको थियो। बिहीबार दिउँसो काठमाडौंको प्रदूषण मापन १९६ एक्यूआईसम्म गरिएको थियो।
कंगोको किन्शासा सहर २११ एक्यूआईसहित विश्वको प्रदूषित सहरमा पहिलो नम्बरमा हुँदा दक्षिण एसियाली मुलुक पाकिस्तानको लाहोर १९९ एक्यूआईसहित दोस्रो स्थानमा छ।









