टिकटकले १८ वर्ष मुनिका प्रयोगकर्तालाई ब्युटी फिल्टर प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ। अनलाइन ब्युटी फिल्टरहरूको प्रयोगले आत्मसम्मान घट्दै गएको र मानसिक स्वास्थ्यमा असर बढ्दै गएको भन्दै टिकटकले ब्युटी फिल्टरहरूमा कडा प्रतिबन्ध लगाउन लागेको हो।
बिज्ञापन
टिकटकको प्रेस विज्ञप्ति अनुसार पहिलो चरणमा आउँदो सातादेखि युरोपका प्रयोगकर्तामाझ यो नियम लागू हुनेछ। यसपछि आँखा ठूलो देखाउने, ओठ मोटो बनाउने, छालाको रङ मुलायम बनाउने जस्ता ब्युटी फिल्टर किशोरीहरूले प्रयोग गर्न सक्ने छैनन्। वास्तविक मेकअपबाट नभई कृत्रिम तरिकाको मेकअपबाट हुने परिवर्तन रोक्न यस्तो कदम चालेको टिकटकले जनाएको छ।
बिज्ञापन
यसअघि गैरनाफामूलक संस्था ‘इन्टरनेट म्याटर्सु ले तयार पारेको एक प्रतिवेदनमा ब्युटी फिल्टरले ‘संसारलाई विकृत रूपले देखाउने’ र ‘सामाजिक दबाब सिर्जना गर्ने’ उल्लेख गरेको थियो। फिल्टरले परिवर्तन गरेका अनुहार र फोटोलाई बालबालिकाले वास्तविक ठान्दा मानसिक समस्या देखिएको प्रतिवेदनको निष्कर्ष छ। टिकटकले खरायोको कान र कुकुरको नाक जस्ता फिल्टरमा भने प्रतिबन्ध लगाउने छैन। यो नयाँ नियम प्रयोगकर्ताले एपमा राख्ने उमेर अनुसार लागू हुने बताइएको छ।
एपले बालबालिकाको मानसिक स्वास्थ्यमा प्रभाव पारेको विषयमा टिकटकले सरकारी संयन्त्रबाट पटक-पटक चेतावनी पाइरहेको छ। यसले गर्दा कम्पनीले १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लेटफर्मबाट हटाउने प्रणाली ल्याउन लागेको समेत बताइएको छ।








