यस वर्षको दसैँमा यहाँ १६ करोड रुपैयाँ बढीको भेडा र खसीको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारमा मात्रै १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरको भेडा र खसी किनबेच भएको चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख बीरबहादुर रावलले जानकारी दिए ।
बिज्ञापन
यहाँका भेडापालक किसान र अन्य जिल्लाबाट ल्याइएका गरी सात हजार नौ सय २८ भेडा र खसी किनबेच भएका हुन् । चन्दननाथ नगरपालिका पशुपक्षी शाखा प्रमुख रावलले भने, ‘रु १५ करोड २३ लाख २३ हजारका भेडा, रु ७७ लाख ९२ हजारका खसी र रु ३१ लाख १६ हजारका राँगा भैसी खरिद बिक्री भएका छन् ।’ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार रुपैयाँ, न्यूनतम १० हजार रुपैयाँ भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो ।
बिज्ञापन
जुम्ली खसीको अधितम मूल्य २४ हजार रुपैयाँ र न्यूनतम मूल्य आठ हजार रुपैयाँ भएकामा औसत मूल्य १६ हजार रुपैयाँ निर्धारण गरिएको थियो । अधिकतम् मूल्य ५० हजार रुपैयाँ र न्यूनतम मुल्य २६ हजार रुपैयाँमा किनबेच भइरहेका राँगाभैँसीको औसत मूल्य ३८ हजार रुपैयाँ निर्धारण गरी कारोबार मूल्याङ्कन गरिएको चन्दननाथ नगरपालिका पशुपंक्षी शाखा प्रमुख रावलको भनाइ छ । विसं २०६८ देखि तिब्बतबाट भेडा च्याङ्ग्रा ल्याउन छाडेपछि जुम्ली भेडा र खसी मात्रै बिक्रीवितरण हुने गरेको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।
स्थानीय तहको केन्द्रहरुमा पनि भेडा र खसीको कारोबार हुने गरेको छ । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड र बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघु लगायतका बजारमा समेत भेडा र खसीको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।








