दुई दिनको अविरल वर्षापछि आएको बाढी र पहिरोले काठमाडौं जोड्ने सबै राजमार्गमा क्षति पुगेपछि काठमाडौं उपत्यकामा तरकारीको मूल्य आकासिएको छ । हाल देशका ठूला दुई तरकारी बजार कालिमाटी र बल्खुमा तरकारी आपूर्ति हुन सकेको छैन । बल्खु डुबानमा पर्दा ठूलो क्षति भएको छ ।
बिज्ञापन
यस्तोमा एक त काठमाडौँमा ताजा तरकारी पाउनै मुस्किल छ, पाउने बोडी, सिमी, भान्टा, भिन्डी, फर्सीजस्ता तरकारीको मूल्य उच्च रहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिको मूल्यसूची अनुसार अधिकांश तरकारीको मूल्य बढेको छ । यस दिन अधिकांश तरकारीको मूल्य बढेको छ भने केहीको तीन गुणासम्म मूल्यवृद्धि भएको छ । विशेषगरी हरियो तरकारीको मूल्य आकासिएको छ ।
बिज्ञापन
मंगलबार प्रतिकिलो ठूलो गोलभेँडाको मूल्य १४०, सानोको ५५, बन्दा ७५, काउली ७८, मुला ४५, भान्टा ४५ रुपैयाँ रहेको छ । जबकि बाढी र पहिरो अघि गत शुक्रबार ठूलो गोलभेँडाको मूल्य १०५, सानोको ३०, बन्दा ४५, काउली ६५, मुला २७, भान्टा २७ रुपैयाँ रहेको थियो ।
यसैगरी बोडी ६५, सिमी ४५, तीतेकरेला ४५ रुपैयाँ रहेकोमा बोडी १२५, सिमी ११०, तीतेकरेला ९५ रुपैयाँ पुगेको छ । ३५ रुपैयाँको लौका ८५ रुपैयाँ पुगेको छ । परवर र घिरौला ७५ बाट ११०, हरियो फर्सी २७ बाट ५५ रुपैयाँ पुगेको छ । रायो साग ७५, पालुंगो ७५ र तोरीको साग ४५ रुपैयाँ रहेकोमा क्रमशस् ९५, ८५, ५५ रुपैयाँ पुगेको देखिन्छ ।








