पछिल्लो समय अण्डाको मूल्य बढ्न थालेको छ।
बिज्ञापन
मागअनुसार उत्पादन नहुँदा अण्डाको मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य तोक्दै आएको छ। संघले किसान र उपभोक्ता दुवैको लागि मूल्य निर्धारण गर्छ। असार ५ गते अण्डाको नयाँ मूल्य तोकेको संघले सातरदश दिनमै पुनः नयाँ मूल्य निर्धारण गरेको हो। अहिले न्यूनतम प्रतिक्रेट पाँच रूपैयाँदेखि २० रूपैयाँसम्म मूल्य बढाइएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। ‘उत्पादन घटेको छ। माग बढेको छ,’ उनले भने, ‘माग अनुसार आपूर्ति नहुँदा मूल्य बढेको हो।’
बिज्ञापन
उनका अनुसार हाल बजारमा मध्यम, ठूलो, एक्सेल गरी तीन आकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डा प्रतिक्रेट चार सय ७०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय रूपैयाँ तोकिएको छ। त्यस्तै, सातरदश दिनअघि किसानले मध्यम आकारको अण्डा चार सय ६५, ठूलो अण्डा चार सय ८० र एक्सेल अण्डा पाँच सय १५ रूपैयाँ पाएका थिए। किसानले पाउने मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। हाल उपभोक्ताले आकारको आधारमा प्रतिक्रेट पाँच सय ४० रूपैयाँदेखि छ सय रूपैयाँसम्म तिर्नुपर्ने मनमैजुस्थित लुम्बिनी अण्डा सप्लायर्सका सञ्चालक दिपक कुँवरले जानकारी दिए।
‘आकार अनुसार मूल्य फरक हुन्छ,’ उनले भने, ‘त्यो पनि पसल अनुसार फरक छ। खुद्राको तुलनामा होलसेलमा अलि सस्तो हुन्छ।’ उनका अनुसार हाल उपभोक्ताले मध्यम आकारको अण्डा प्रतिक्रेट पाँच सय ४० देखि पाँच सय ५० रूपैयाँ तिर्नुपर्छ। त्यस्तै, ठूलो अण्डा पाँच सय ७० देखि पाँच सय ८० रूपैयाँसम्म तिर्नुपर्छ भने एक्सेल अण्डाको मूल्य प्रतिक्रेट छ सय रूपैयाँ छ। त्यस्तै, संघले निर्धारण गरेअनुसार खुद्रा अण्डाको मूल्य भने प्रतिगोटा २२ रूपैयाँ छ। तर, उपभोक्ताले संघले तोकेको मूल्यभन्दा दुई रूपैयाँ सस्तोमै पाइरहेको उनी बताउँछन्। यसअघि उपभोक्ताले मध्यम आकारको अण्डा प्रतिक्रेट पाँच सय ३०, ठूलो अण्डा पाँच सय ५० र एक्सेल अण्डा पाँच सय ७० देखि ८० रूपैयाँमा पाइरहेका थिए। बजार माग अनुसार उत्पादन नहुँदा अझै मूल्य बढ्ने सम्भावना रहेको उनी बताउँछन्।








