मोरङको उर्लाबारीमा रहेको एउटा ज्वेलर्स (सुनचाँदी पसल) फुटाएर चोरी भएको छ। अज्ञात समूहले ज्वेलर्स फोडेर ठूलो परिमाणमा चाँदीका गरगहना चोरी गरेको छ।
बिज्ञापन
करिब २ तोलाको तिलहरीबाहेक सुनका अरु गहना भने पसलमै छाडिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार ज्वेलर्सबाट २५ किलो चाँदीका गहना, २ तोला सुनको तिलहरी र १५ हजार रुपैयाँ नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ज्वेलर्समा अनौठो खालको चोरी भएको उनको भनाइ छ। ‘ज्वेलर्स फोडेर चोरी गरिएको छ। चाँदीका सबै गहना लगेको पाइयो। तर, सुनका गहनाहरु पसलमै छाडिएको छ। २ तोलाको तिलहरी मात्रै चोर लगेको पाइयो। यो एकदमै अनौठो खालको घटना हो,’ डीएसपी जोशीले भने।
बिज्ञापन
उनका अनुसार उर्लाबारी नगरपालिका–४ आइतबारेमा कुमार लिम्बूको घर भाडामा लिएर रमेश विकले न्यू पाथीभरा ज्वेलर्स सञ्चालन गर्दै आएका थिए। उक्त ज्वेलर्समा आइतबार राति चोरी भएको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनाको जानकारी सोमबार बिहान १० बजेतिर मात्रै पाएको थियो।








